सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
बढुवाको तयारी

प्रहरीमा एसएसपीको ४ सिट रिक्त : २३ जना प्रतिस्पर्धामा

विवादित अधिकृत पनि शक्तिकेन्द्र रिझाउने दौडमा
आइतबार, १३ जेठ २०८१, १६ : १४
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ४ सिट रिक्त भएको छ । जेठ ४ मा बढुवा समितिले चार जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो । 

बढुवा समितिको सिफारिस अनुसार बढुवा नियुक्तिको निर्णय गर्ने काम प्रक्रियामा रहेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

सिफारिस परिपक्व हुन आवश्यक ७ दिन पुरा भएसँगै एसएसपीमा बढुवा गर्नेबारे तयारी थालिएको छ । प्रहरी नियमावली–०७१ अनुसार अहिले सिनियर र कार्यक्षमता उत्कृष्ट भएको मध्येका चार जना एसपीलाई एसएसपीमा बढुवा गर्न मिल्छ । जेठ ४ मा बढुवा समितिले कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

सो निर्णयसँगै रिक्त ४ सिटमा २३ जना प्रहरी उपरीक्षक (एसपी)हरू एसएसपी हुने प्रतिस्पर्धामा छन् । २०५६ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका अधिकृतहरू र २०५८ मा सेवा प्रवेश गरेकाहरूको बिचमा प्रतिस्पर्धा देखिएको छ ।

बढुवा प्रतिस्पर्धा सूचीको पहिलो नम्बरमा छन्, विमल बस्नेत । राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ मा भर्ना भएर नेपाल प्रहरीमा आएका उनी २०७२ फागुनमा एसपीमा बढुवा भएका हुन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा बस्दा घुस लिएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई ५ वर्ष बढुवा नहुने गरी कारबाही गरेको थियो । ५ वर्ष बढुवा रोक्का गर्ने प्रधान कार्यालयको निर्णय अनुसार उनी यस पटक पनि बढुवामा भने नपर्ने प्रधान कार्यालयका उच्च अधिकृतहरू बताउँछन् ।

२०५६ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका हिरा बहादुर पाण्डे, नान्तीराज गुरुङ्ग, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईँ, विनोद सिलवाल, भीम बहादुर दाहाल र विमल राज कँडेल बढुवा प्रतिस्पर्धामा छन् । एसपी प्रसाईँ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट र सिलवाल पश्चिम नवलपरासीबाट अवधि पुरा नहुँदै तानिएका अधिकृत हुन् ।

श्यामकृष्ण अधिकारी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा बस्दा गुण्डागर्दीमा संलग्नहरूसँग उपहार लिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा परेका थिए । बिमलराज कँडेल प्रहरी निरीक्षक हुँदा नै निलम्बनमा परेका थिए । 

२०७८ मा सिराहामा बस्दा जिल्ला कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोपमा हिराबहादुर पाण्डे निलम्बनमा परे । ३ महिनापछि उनको निलम्बन फुकुवा गरिएको थियो । नान्तीराज गुरुङले संगठन प्रमुखको विरुद्ध सामाजिक सञ्जाल (फेसबुक)मा लेखेको भन्दै  आलोचना हुने गरेको छ ।

२०७५ फागुन ३ मा एसपीमा बढुवा भएका उनीहरू ‘विवादित’ छवि भए पनि शक्तिकेन्द्र रिझाएर बढुवा हुने दौडमा छन् ।

अघिल्लो टोलीसँग प्रतिस्पर्धामा छन्, २०५८ साउन १८ मा प्रहरीमा प्रवेश गर्नेहरू । रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जि.सी, कृष्ण प्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्याम कुमार महतो, कृष्ण प्रसाद पङ्गेनी, अजय केसी, नवराज अधिकारी र वीर बहादुर बुढामगर पनि वरिष्ठ उपरीक्षक हुने प्रतिस्पर्धामा छन् । पछिल्लो ब्याचका भए पनि रमेश थापा सहितका १३ जना २०७५ फागुन ३ मा एसपीमा बढुवा भएका थिए । राष्ट्रिय अनुसन्धान विभागबाट आएका र पुरानो टोलीभन्दा नयाँ टोली कम विवादित र ब्यवसायिक मानिन्छन् ।

सन्तोष खड्का र कृष्ण कोइराला सङ्गठित अपराधको अनुसन्धानमा अब्बल भनेर चिनिएका अधिकृतहरू हुन् । जनार्दन जिसी प्राविधिक सईबाट प्रहरीमा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप