शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

गणतन्त्र दिवसमा राखेपद्वारा खेलाडी पुरस्कृत

मङ्गलबार, १५ जेठ २०८१, १८ : ५६
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठजना खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका तीन–तीन तथा मुवाँथाई र उसुका एक–एकजना खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६औँ एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत जितेका थिए ।

शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत गरियो । ललितले माल्दिभ्समा भएको १३औँ दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५औँ एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

मुवाँथाईबाट गुणराज रुचाल र उसुबाट विजयी सिंजालीले पुरस्कार पाए । गुणराजले थाइल्यान्डमा भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी–प्रो स्पर्धामा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी–प्रोमा गुणराजअघि कुनै पनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए ।

कुल ६ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरियो । राजपुरा र राममायाले समान ५५–५५ हजार रुपैयाँ नगद पुरस्कार पाए । बाँकीलाई समान ९०–९० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

खेलाडीलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबिच पुरस्कृत गरे ।

उपाध्यक्ष कोइरालाले पुरस्कृत खेलाडीलाई बधाई दिए । उनले आगामी दिनमा अझ बढी सफलता हासिल गर्न शुभकामना दिए । सदस्यसचिव घिसिङले ऐतिहासिक दिवसका अवसरमा परिषद्ले खेलाडीलाई पुरस्कृत गरेको बताउँदै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी बेलैमा सुरु नगरी खेलाडीबाट ठुलो सफलताको अपेक्षा गर्नु न्यायोचित नहुने बताए ।

खेलाडी छनोट गर्न राखेपले तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई सदस्य रहने गरी तीन सदस्यीय खेलाडी छनोट कार्यदल गठन गरेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?