सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस प्रदेश : विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव

कांग्रेस, लोसपा र एकीकृत समाजवादीको समर्थन
बुधबार, १६ जेठ २०८१, १९ : ४७
बुधबार, १६ जेठ २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् । जेठ २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

अहिले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारमा एकीकृत समाजवादी सामेल छ । सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

स्रोतका अनुसार कांग्रेस र लोसपा नेपाललाई समेटेर मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन पहल भएको हो ।

कांग्रेसका प्रदेश सभा सदस्य श्याम पटेलका अनुसार जसपा नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा लगभग सहमति भइसकेको छ । त्यही सहमति अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको उनको भनाइ छ ।

मुख्यमन्त्री यादवलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने आन्तरिक सहमति भएको स्रोत बताउँछ ।

स्रोतका अनुसार नयाँ सरकारमा कांग्रेसलाई ४, लोसपालाई २, एकीकृत समाजवादीलाई २ र जसपालाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय दिने आन्तरिक सहमति भएको छ ।

अङ्कगणितले के भन्छ ?

सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभामा जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस आधारमा मुख्यमन्त्रीसँग ५६ जना सांसदको समर्थन रहन्छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप