‘पुजार सार्की’ ले राजनीतिक दलले भन्दा महान् क्रान्ति गरेको छ : हिसिला यमी
काठमाडौँ। पूर्वमन्त्री तथा नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्तिभन्दा पनि महान् क्रान्ति फिल्म ‘पुजार सार्की’ ले गरेको बताएकी छन्। बुधवार काठमाडौँको गोङ्गबुस्थित बिएसआर चलचित्र हलमा चलचित्र हेरे लगत्तै उनले सो प्रतिक्रिया दिएकी हुन्। उनले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित थुप्रै नेताहरूलाई यो चलचित्र देखाउनुपर्ने बताइन्।
चलचित्र हेरेर निस्कँदै गर्दा उनलाई धन्यवाद दिन चलचित्रका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली लगायत पुगेका थिए। टिमलाई प्रतिक्रिया दिँदै यमीले छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्ने यो चलचित्रले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको बताइन्।
‘महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ। त्यस्तै, छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ। अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन। परम्परागत राजनीतिक पार्टी कांग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्तिभन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ ले गरेको छ,’ उनले बताइन्।
यमीले पछिल्लो समयका प्रदर्शन भइरहेका नेपाली चलचित्रहरूले राजनीतिकर्मीहरूलाई निरन्तर घच्घचाउने काम गरेको उल्लेख गरिन्। उनले भनिन्– ‘अहिले आर्थिक रूपमा असाध्यै तल परिरहेको अवस्थामा मानिसको मनोबल तल गिरिरहेको छ।
यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरूले हामीलाई घच्घचाउने विषयहरू ल्याइराख्नुभएको छ। ‘पुजार सार्की’ चलचित्रले राजनीतिक रूपमा नै छुवाछूतको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराले हामीलाई राहत दिएको छ। यो विषय अत्यन्त सही तरिकाले यो चलचित्रमा प्रस्तुत गरिएको छ। समाज सुधारको सन्दर्भमा अहिले प्रदर्शन भइरहेका चलचित्रहरूलाई राजनीतिक दलभन्दा पनि उच्च स्थानमा राखेको छु।’
यमीको प्रतिक्रिया लिएपछि यस चलचित्रमा ‘पुजारी’ को भूमिका निभाएका अभिनेता आर्यन सिग्देलले नीतिमा छुवाछुत गर्न नपाइने रहेको तर नियत खराब भएकाहरूको कारण यो समस्या यथावत् रहेको जनाए। यमीसँग कुरा गर्दै आर्यनले भने, ‘यस कारण गैर दलितले नै छुवाछूत हुनुहुँदैन भनेर यस चलचित्रबाट आन्दोलन छेड्नु परेको हो।’
जेठ १० गते रिलिज भएको ‘पुजार सार्की विश्व बजारमा सफलताका साथ प्रदर्शन भइरहेको छ। यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण