बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कानुन बनाउने काम सहज छैन : मुख्यमन्त्री कार्की

बुधबार, ३० जेठ २०८१, १८ : ०५
बुधबार, ३० जेठ २०८१

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानुन बनाउने काम सहज नभएको बताएका छन् । मुख्यमन्त्री  कार्कीले कानुन बनाउने काम गम्भीर रहेको भन्दै शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको बताए ।

प्रदेशसभा सचिवालयले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै उनले कानुन निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको बताए ।

कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानुन संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उनले संविधान अध्ययन गरेर आवश्यक कानुन बनाउन जोड दिए । मुख्यमन्त्री कार्कीले कानुन पढेर मात्रै  कानुन बनाउन नजानिने भन्दै  कानुन बनाउने काम सबै भन्दा कठिन भएको बताए । 

कानुन निर्माणको लागि सङ्घीयता आएको पछिल्लो ६ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी लागू गर्न उनले आग्रह गरे । सुशासनका लागि पनि  कानुन अति अवाश्यक भएकोले त्यसतर्फ समेत ध्यान दिनुपर्ने कुरामा जोड दिए  ।

कानुन बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा उनले धार्मिक पर्यटनमा जोड दिनु पर्ने बताए । उनले लुम्बिनी बुद्धिस्टहरूको लागि पवित्र भूमि भएको र त्यहाँ छिमेकी मुलुक चीनबाट मात्रै करोडौँ पर्यटक तान्न सकिने बताए ।

यस्तै पशुपतिनाथ र पाथिभारा दर्शनका लागि  छिमेकी मुलुक भारतबाट करोड करोड पर्यटक ल्याउन सकिने उनको भनाइ छ ।  पर्यटकहरूलाई सहज हुने गरीको राज्यको नीति हुन आवश्यक रहेकोमा उनले जोड दिए। 

कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानुन निर्माणका लागि सहयोग गर्न तयार रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप