बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाल प्रहरी

स्टाफ कलेज लागु गर्न नेपाल प्रहरी तम्तयार, अब बढुवामा कडा व्यवस्था

डीआईजी बन्न एमपीएस अनिवार्य, तीन पटक अवसर
बिहीबार, ०६ असार २०८१, १५ : ४७
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ आर्थिक वर्ष (२०८१/०८२)को सुरुवातसँगै स्टाफ कलेज लागु हुने भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कलेज संचालन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट सम्बन्धन लिइसकेको छ । 

यससँगै मास्टर इन पुलिस साइन्स (एमपीएस) कोर्सका रूपमा स्टाफ कलेज लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआईजी) सुदिप गिरीले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार मास्टर इन पुलिस साइन्सको पाठ्यक्रम तयार गरिसकिएको छ ।  उनले भने, ‘पाठ्यक्रम तयार गरिएको छ, नयाँ आर्थिक वर्षको सुरुवातसँगै स्टाफ कलेज सुरु गर्छौँ । उनका अनुसार कार्यक्रम स्वीकृत भएपछि सङ्काय प्रमुख तोकेर असोजबाट कक्षा सुरु गर्नेगरी काम भइरहेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले स्टाफ कलेज सम्बन्धी प्रस्ताव आईजीपी नेतृत्वको नीति समन्वय समिति (पीसीसी) मा प्रस्तुत गरेसँगै परिमार्जनसहित लागु गर्न पीसीसीले सैद्धान्तिक सहमति दिएको छ । 

सहमतिका आधारमा जोशी नेतृत्वको समितिले अहिले प्रतिवेदन परिमार्जन गरिरहेको छ । परिमार्जनपछि गृह मन्त्रालयबाट स्वीकृत गरेर स्टाफ कलेज कार्यान्वयनमा प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।  

त्रिविबाट स्वीकृत पाठ्यक्रमअनुसार एमपीएसमा नेतृत्व विकास र व्यवस्थापन सम्बन्धी कोर्स गर्नुपर्छ । अहिले आधारभूत तालिमसँगै इन्स्पेक्टरहरूले एकवर्षे पीजीडीपीएस (पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स) कोर्स गर्दै आएका छन् । एमपीएस कार्यक्रमलाई थप परिमार्जित बनाउन पीसीसी बैठकले सुझाव दिएको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले स्टाफ कलेज सञ्चालन गर्नेबारे पूर्वाधार पनि तयार गरिसकेको छ । एआईजी गिरीका अनुसार स्टाफ कलेज सुरु गर्न प्रतिष्ठान ‘रेडी टु मूभ’को अवस्थामा छ ।

जुनियर डीएसपी र इन्स्पेक्टरहरूलाई स्टाफ कलेज सञ्चालन गर्न जिम्मेवारीमा खटाउने समितिले प्रस्ताव गरेको छ । 

448570954_786452820138251_8554505159925313151_n

१५८ औँ टोलीबाट लागु 

मास्टर इन पुलिस साइन्स २०७० मा भर्ना भएका इन्स्पेक्टर र सोही समूहबाट डीएसपीमा बढुवा भएकाहरूबाट सुरु गर्न समितिले प्रस्ताव गरेको छ । उनीहरू १५८ औँ समूहका अधिकृत हुन् । एआईजी गिरी भन्छन्, ‘१५८ औँ समूहबाट लागु गर्ने गरी काम भइरहेको छ ।’  

१६ महिनामा कोर्स पुरा हुनेगरी त्रिविले मास्टर इन पुलिस साइन्सको पाठ्यक्रम स्वीकृत गरेको छ । त्यसमा प्रत्येक ४ महिनाको सेमेस्टर हुन्छ । स्टाफ कलेज गर्नेहरू १२ महिना होस्टलमा बस्नुपर्छ । यस्तै ४ महिना रिसर्च गर्ने गरी पाठ्यक्रम तयार भएको छ । 

छनोट भएका प्रशिक्षार्थीलाई प्रवेश परीक्षाको तयारी गर्न दुई महिनाको समय दिइने एआईजी गिरीले बताए । उनले भने, ‘पहिलो चरणमा २०७० मा भर्ना भएका सबै प्रहरी निरीक्षकहरुले कोर्स गर्नुपर्छ ।’ 

डीआईजी हुन एमपीएस अनिवार्य 

१५८ औँ समूहका इन्स्पेक्टर (२०७० मा भर्ना) र त्यसपछि भर्ना भएकाहरूले स्टाफ कलेज नगरे नेतृत्वमा पुग्न सक्दैनन् । प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य गर्न प्रस्ताव गरिएको छ । एमपीएस कोर्स नगर्ने अधिकृतहरू प्रहरी महानिरीक्षक हुन पाउँदैनन् । 

प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा सिफारिस गर्दा प्रतिशत छुट्याएर बढुवा दिन प्रस्ताव गरिएको छ । वरिष्ठ उपरीक्षकमा बढुवा हुँदा एमपीएस गर्नेलाई २० प्रतिशत आरक्षण दिनुपर्ने समितिको प्रस्ताव छ । 

एआईजी गिरी भन्छन्, ‘डीआईजी हुन सत प्रतिशतले एमपीएस गर्नुपर्छ ।’ वरिष्ठ उपरीक्षक हुँदा आरक्षण र नायव महानिरीक्षक (डीआईजी) हुन अनिवार्य गर्ने प्रस्ताव प्रहरी नियमावलीमा नै व्यवस्था गर्ने गरी प्रहरी प्रधान कार्यालयले काम गरिरहेको छ । स्टाफ कलेज गर्न नसक्नेहरू वरिष्ठ उपरीक्षक भन्दा माथिल्लो पदमा पदोन्नति हुन पाउँदैनन् । स्टाफ कलेज अवधारणाले प्रहरीमा बढुवाको अस्वस्थ खेल समेत निरुत्साहित हुने अपेक्षा गरिएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलमा पहिलेदेखि नै स्टाफ कलेज लागु गरेर सो कोर्स गर्नेलाई मात्र नेतृत्व तहमा पदोन्नति गर्ने प्रणाली छ । अहिले सशस्त्रमा ‘मास्टर इन सेक्युरिटी एन्ड पिस स्टडिज’ र सेनामा ‘मास्टर इन स्ट्रटेजिक स्टडिज’ अनिवार्य छ । सेनामा स्टाफ कलेज उत्तीर्ण नहुनेहरू प्रमुख सेनानी तहसम्म मात्र पुग्छन् । महासेनानी हुन अर्को छुट्टै कोर्स गर्नुपर्ने व्यवस्था छ । 

सशस्त्रमा स्टाफ कलेज पूरा नगर्नेहरू एसएसपीबाट माथिल्लो तहमा बढुवा हुन पाउँदैनन् ।  स्टाफ कलेज लागु गर्दा त्यसले प्रहरीभित्र बौद्धक क्षमता विकास गर्ने एआईजी गिरीले बताए । उनले भने, ‘सिकाई रणनीति र अधिकृतहरूमा नेतृत्व क्षमता पनि विकास हुन्छ ।’ 

३ पटक अवसर 

प्रहरीको तालिम निर्देशनालयले पठाएको नामअनुसार प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षार्थीहरू छनोट गर्ने गरी कार्यविधि तयार भएको छ । एउटा ब्याचमा ३५ जना अधिकृतहरू छनोट हुन्छन् । 

एमपीएस गर्न ३ पटक प्रवेश परीक्षाको अवसर दिन समितिले प्रस्ताव गरेको छ । तेस्रो पटकको इन्ट्रान्समा पनि फेल हुने अधिकृत एमपीएसका लागी अयोग्य हुन्छन् । 

२०७० मा भर्ना भएका इन्स्पेक्टरहरूसँग फिल्डमा १० वर्ष काम गरेको अनुभव पनि भएको हुनाले उनीहरूलाई लक्षित गरेर कार्यक्रम सुरु गर्न लागेको एआईजी गिरीले जानकारी दिए । 

स्टाफ कलेज सुरु गर्न अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७४–०७५ देखि नै बजेट विनियोजन गर्दै आएको थियो । तर, नेतृत्वको अनिच्छाका कारण सुरु हुन सकेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप