बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

विराटनगर महानगरपालिकाले पौने चार अर्बको बजेट ल्याउने

मेयर, उपमेयर कोषमा ४० करोड बढी बजेट राखिँदै
आइतबार, ०९ असार २०८१, २१ : ३१
आइतबार, ०९ असार २०८१

विराटनगर ।  विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झन्डै २० करोड रुपैयाँ रकम बढाउँदै पौने ४ अर्बको बजेट ल्याउने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गते सोमबार नै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको हो । 

महानगर कार्यपालिकाको गत शुक्रबार बसेको बैठकले आगामी वर्षको अनुमानित आय व्यय विवरणसहित आर्थिक प्रस्ताव र विनियोजन विधेयक नगर परिषद्मा पेश गर्ने निर्णय गरिसकेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ८० करोड रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको स्रोतको दाबी छ । 

यसअघि नै सम्पन्न कार्यपालिका बैठकले वडाहरूलाई दिएको बजेट सिलिङ तथा महानगरका शाखा, महाशाखाहरूको सिलिङका आधारमा प्राप्त भएका योजनाहरू स्वीकृत गरी बजेटको आकारलाई पूर्णता दिएको एक जना कार्यपालिका सदस्यले जानकारी दिए ।

आगामी वर्षको बजेटमा महानगरपालिकाले खासै नयाँ कार्यक्रमहरूलाई ठाउँ दिएको छैन । लक्ष्यअनुसार राजश्व सङ्कलन नभएपछि महानगरले केही नगर स्तरीय बाहेक नयाँ कार्यक्रमहरू समावेश नगरेको बताइएको छ । 

महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब २ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको भए पनि गत वर्षको जति राजश्व सङ्कलन गर्न महानगरलाई हम्मे परेको छ । गत वर्ष महानगरले ६४ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । 

आगामी वर्षको बजेटमा महानगरपालिकाले सबै वडाहरूलाई समानुपातिक रूपमा २ करोड रुपैयाँको बजेट सिलिङ तोकेर योजना माग गरेको थियो । त्यसका आधारमा अधिकांश वडाहरूले योजना र कार्यक्रमको विवरण महानगरमा बुझाइसकेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ ले सबैभन्दा बढी २ करोड ५० लाख रुपैयाँको सिलिङ प्राप्त गरेको बताइएको छ । केही वडाले २ करोड २० लाख रुपैयाँको सिलिङ पाएका थिए । वडा नम्बर ६, ९, र १२ ले आइतबारसम्म बजेट सिलिङका आधारमा योजनाहरू पेस गरेका छैनन् । 

आगामी वर्षको बजेटको ठुलो हिस्सा मेयर तथा उपमेयर कोषमा एकमुष्ट राख्ने  तयारी गरेका छन् । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले आफू अनुकूल बजेट खर्च गर्न कोष खडा गर्न लागेका हुन् । उक्त कोषमा झन्डै ४० करोड रुपैयाँ एकमुष्ट राखेर विभिन्न योजनामा खर्च गर्ने दुवै जनाको तयारी छ । 

चालु आर्थिक वर्षको बजेट ल्याउँदा महानगरपालिकाले मेयर तथा उपमेयर कोषमा ३४ करोड रुपैयाँ एकमुष्ट राखेको थियो । कुनै योजनाबिना अबण्डामा ठुलो रकम राखिएको भन्दै गत वर्ष विरोधसमेत भएको थियो । अबण्डामा बजेट राख्न नपाइने भए पनि स्थानीय तहहरूले यस्ता कोषमा रकम राखेर दुरुपयोग गर्ने गरेको भन्दै विज्ञहरूले यस्तो प्रवृत्तिको विरोध गर्दै आएका छन् । 

महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ७२ करोड ९ लाख ७९ हजार ५ सय रुपैयाँको बजेट ल्याएको थियो । तर, उक्त वर्ष यथार्थ आय भने २ अर्ब ७४ करोड ९० लाख ७४ हजार ६०३ रुपैयाँ मात्रै भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाले ३ अर्ब ७३ करोड ७५ लाख ६७ हजारको बजेट नगर सभाले पारित गरेको थियो । उक्त बजेटमा अनुमान गरेभन्दा ४० करोडले कम ३ अर्ब ३३ करोड ६८ लाख ८२ हजार ४४२ रुपैयाँ आम्दानी हुँदा ३ अर्ब ५५ करोड ६२ लाख ८० हजार १९२ रुपैयाँ खर्च भएको महालेखा परीक्षण कार्यालयको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षका लागि भने महानगरपालिकाले ३ अर्ब ६१ करोड ३५ लाखको बजेट कार्यान्वयन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप