बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

केन्या : संसद्‍मा पुगेका प्रदर्शनकारीमाथि प्रहरीको गोली

मङ्गलबार, ११ असार २०८१, २१ : २४
मङ्गलबार, ११ असार २०८१

नाइरोबी । केन्याको संसद् भवनमा आक्रमण गर्न खोजिरहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले गोली चलाएको छ । घटनामा कम्तीमा पाँच प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

सांसदहरूले कर बढाउने कानुन पारित गर्न लागेको विरोधमा उनीहरूले प्रदर्शन गरेका थिए । संसद् भवनका केही भागहरूमा आगजनी समेत गरिएको छ ।  सिटिजन टिभीका अनुसार प्रदर्शनकारीहरू दिनको सुरुमा सिनेट कक्षमा प्रवेश गर्न सफल भएका थिए ।

भीडलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा असफल भएपछि प्रहरीले गोली चलाएको थियो ।

रोयटर्सका एक पत्रकारले संसद् बाहिर कम्तीमा पाँच प्रदर्शनकारीको शव गणना गरे । प्यारामेडिक रहेका भिभियन अचिस्टाले भने कम्तीमा १० जनाको गोली हानी हत्या गरिएको जानकारी दिए ।

अर्का प्यारामेडिक रिचर्ड न्गुमोका अनुसार ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । उनले दुई घाइते प्रदर्शनकारीलाई संसद्बाहिर एम्बुलेन्समा लगेका थिए ।

‘हामी संसद् बन्द गर्न चाहन्छौँ । प्रत्येक सांसदले राजीनामा दिनुपर्छ,’ संसद्मा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारी डेभिस टाफारीले रोयटर्सलाई भने, ‘हामीसँग नयाँ सरकार हुनेछ ।’

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी  बहिनी नाता पर्ने औमा ओबामा पनि प्रदर्शनकारीहरूमध्ये एक थिइन् । प्रहरीले अन्ततः प्रदर्शनकारीहरूलाई भवनबाट धपाउन सफल भएको थियो। सांसदहरूलाई भूमिगत सुरुङबाट बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

देशका अन्य सहरहरूमा पनि विरोध र झडपहरू भएका छन् । धेरैले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप