स्पेनिस फुटबल खेलाडी लामिन यामालका पितामाथि चक्कु प्रहार

बार्सिलोना । स्पेनिस फुटबल स्टार लामिन यामालका बुबामाथि चक्कु प्रहार भएको छ । १७ वर्षीय खेलाडीका पितामाथि कार पार्किङमा कयौँ पटक चक्कु प्रहार भएको बताइएको छ ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार लामिन यामालका बुबा मौनिर नसराउईमाथि बुधबार तटीय सहर मातारोमा आक्रमण भएको हो । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ ।
आक्रमणकारीहरूसँग उनले अघिल्लो रात कुराकानी पनि गरेका थिए । यस घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
यस वर्षको म्युनिखमा भएको युरो कप फुटबलको सेमिफाइनलमा स्पेन फ्रान्ससँग १–० ले पछि परेको बेला यमालले बक्स बाहिरबाट गोलपोस्टको माथिल्लो कुनामा उत्कृष्ट गोल गरेका थिए ।
यो गोलले यमलको नाम इतिहासको किताबमा दर्ता गराइदिएको छ । १६ वर्ष ३६२ दिनको उमेरमा उनी प्रतियोगिताको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका थिए ।