बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

मङ्गलबार, ११ भदौ २०८१, १४ : २०
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार हरमनप्रित कौरको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।

टी–२० महिला विश्वकप क्रिकेटको नवौँ संस्करण संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । यसअघि विश्वकप बंगलादेशमा आयोजना हुने कार्यक्रम थियो । तर, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सुरक्षाको कारण देखाउँदै प्रतियोगिता यूएईमा सारिएको हो ।

प्रतियोगिता अक्टोबर ३ देखि २० तारिखसम्म चल्नेछ । प्रतियोगिताको सबै खेल दुबई र शारजहाँमा खेलिने आईसीसीले जनाएको छ । दुबईमा महिला टी–२० विश्वकपको खेल खेलाउन लागिएको यो पहिलो पटक हो ।

विश्वकपका लागि घोषित टोलीमा अनुभवीसँगै युवा खेलाडीलाई पनि अवसर दिइएको बीसीसीआईले जनाएको छ । प्रभावशाली खेलाडी स्मृति मंधाना र शैफाली बर्मालाई पनि भारतीय टोलीमा समावेश गरिएको छ ।

यसैगरी, राधा यादब र जेमिमा रोड्रिग्जले पनि टोलीमा स्थान पाएका छन् । भारतले आफ्नो पहिलो खेल अक्टोबर ४ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिचको खेल भने अक्टोबर ६ तारिखमा हुनेछ ।

विश्वकपका लागि घोषित भारतीय टोलीमा हरमनप्रित कौर (कप्तान), स्मृति मंधाना (उप–कप्तान), शैफाली बर्मा, दीप्ति शर्मा, जेमिमा रोड्रिग्ज, ऋचा घोष (विकेटकिपर), यास्तिका भाटिया (विकेटकिपर), पूजा वस्त्राकर, अरुन्धती रेड्डी, रेणुकासिंह ठाकुर, दयालन हेमलता, आशा शोभना, राधा यादब, श्रेयंका पाटिल र सजना सजिवन रहेका छन् ।

रिजर्भ खेलाडीका रुप्मा अमा क्षत्री, तनुजा कँवर र साइमा ठाकोर रहेका छन् । भारत, पाकिस्तान, साविक विजेता अस्ट्रेलिया, न्युजिल्यान्ड र श्रीलंका प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । बंगलादेश, स्कटल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र स्कटल्यान्ड समूह ‘बी’ मा रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेल अक्टोबर ३ तारिखमा बंगलादेश र स्कटल्यान्डबिच खेलिने छ । पहिलो दिन नै पाकिस्तान र श्रीलंकाबिच अर्को खेल हुनेछ । लिग चरणको समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल अक्टोबर १७ र १८ तारिखमा खेलिने छ । फाइनल खेल अक्टोबर २० तारिखमा हुनेछ ।

टी–२० महिला विश्वकपको पहिलो संस्करण सन् २००९ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि इङ्ल्यान्डले जितेको थियो । अस्ट्रेलिया महिला विश्वकपको साविक विजेता राष्ट्र हो । अघिल्लो संस्करणको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको थियो ।

टी–२० महिला विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल राष्ट्र पनि हो । अस्ट्रेलियाले हालसम्म ६ पटक महिला विश्वकपको उपाधि चुमिसकेको छ । अस्ट्रेलियाले दोस्रो, तेस्रो चौथो, छैटौँ, सातौँ र आठौँ संस्करणको उपाधि जितेको थियो । पाँचौँ संस्करणको उपाधि भने वेस्ट इन्डिजले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप