सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपथ्य अमेरिका शृङ्खला– मेरिल्यान्डमा झुमे दर्शक

मङ्गलबार, १८ भदौ २०८१, ०७ : २२
मङ्गलबार, १८ भदौ २०८१

मेरिल्यान्ड । नेपथ्य अमेरिका शृङ्खला अन्तर्गत मेरिल्यान्डमा कन्सर्ट सम्पन्न भएको छ । निर्धारित समयअनुसारै बेलुकी ठिक ८ बजे कार्यक्रम सुरु भएसँगै नीलो जिन्स पहिरेका अमृत गुरुङ देखा परे र दर्शकतर्फ झुकेर अभिवादन गरे । 

ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे । यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरु भइसकेको थियो । त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए – कोशीको पानी यो जिन्दगानी । त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारीको क्रम सुरु गरे ।

कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो । ती सबको बिचबिचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए ।

सबै स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए ।

09 A houseful of  audience at the Hall @ Live in Maryland to witness the Nepathya concert. Photo-Dipit Raz-Nepalaya

कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झन्डा पनि बोकेरै ल्याएका थिए भने ढाका टोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे ।

यसरी आएका दर्शक अनेक किसिमका समूहमा आबद्ध थिए । कोही साथीसँग मिलेर आएका थिए, कोही आफ्ना जोडीका साथमा उपस्थित थिए भने कोही आफ्ना अभिभावक र केटाकेटीसहित सपरिवार आएका पनि उत्तिकै भेटिन्थे ।

08 Nepathya at the Hall at Live in Maryland. Photo-Dipit Raz-Nepalaya

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला छ वटै कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्दै छ ।  सातौँ कन्सर्टसँगै यसपटकको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ ।

06 Audience react to the Nepathya performance in Maryland. Photo-Dipit Raz-Nepalaya

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप