आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय क्रिकेटमा दूर्लभ कीर्तिमान नजिक विराट कोहली !

बिहीबार, २७ भदौ २०८१, १५ : ४७
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । क्रिकेटलाई कीर्तिमानहरुको खेल पनि भनिन्छ । क्रिकेटमा जति कीर्तिमान सायदै अन्य खेलमा बन्ने गरेका छन् । यसै क्रममा भारतका प्रभावशाली क्रिकेटर विराट कोहली पनि एउटा दूर्लभ कीर्तिमानको नजिक छन् ।

निकट भविष्यमा भारतले घरेलु मैदानमा बंगलादेशसँग दुई टेस्टको शृंखला खेल्दैछ । बंगलादेश र भारतबिचको पहिलो टेस्ट सेप्टेम्बर १९ तारिखमा चेन्नईमा सुरु हुनेछ । दोस्रो टेस्ट सेप्टेम्बर २७ तारिखमा कानपुरमा सुरु हुनेछ ।

कोहलीले हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी–२० विश्वकपलगत्तै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । तर, टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने कोहली अझै पनि सक्रिय छन् ।

बंगलादेशविरुद्धको टेस्ट शृंखलामा केवल ५८ रन बनाएमा कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको एक सय ४७ वर्ष लामो इतिहासमा एउटा रमाइलो कीर्तिमान आफ्नो नाममा पार्नेछन् । उनले आफ्नै राष्ट्रका पूर्वखेलाडी सचिन तेन्दुल्करको नाममा रहेको कीर्तिमान आफ्नो नाममा सार्नेछन् ।

विश्व क्रिकेटमा सचिनले कुल ६ सय २३ खेल (२२६ टेस्ट, ३९६ एकदिवसीय र १ टी–२०) खेलेर कुल २७ हजार रन बनाएका थिए । कोहलीले भने तीनवटै ढाँचाको क्रिकेटमा कुल पाँच सय ९१ खेल खेलेर २६ हजार नौ सय ४२ रन बनाएका छन् ।

यदि बंगलादेशविरुद्धको टेस्टमा ५८ रन बनाए कोहली विश्व क्रिकेटमा ६ सयभन्दा कम पाली खेलेर २७ हजार रनको कोशेढुङ्गा पुरा गर्ने पहिलो खेलाडी बन्नेछन् । उनको यो उपलब्धि विश्व क्रिकेटको एक सय ४७ वर्ष लामो इतिहासमा पहिलो हुनेछ ।

हालको स्थितिमा तेन्दुल्करका अतिरिक्त अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ र श्रीलंकाका पूर्वक्रिकेटर कुमार सांगाकाराले अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रनको कोशेढुङ्गा पार गरेका छन् । सम्भवतः बंगलादेशविरुद्धको टेस्ट शृंखलापछि कोहली पनि यो सूचिमा थपिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप