बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित

शनिबार, २९ भदौ २०८१, १६ : १९
शनिबार, २९ भदौ २०८१

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका विषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो ।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन् । 

सुदूरपश्चिम प्रदेशको धनगढीमा गत २० भाद्रमा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्षबिच मार्जिनको विषयमा विवाद हुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो ।

‘असमझदारीपछि सृजित अवस्था, विभिन्न चरणमा भएका वार्ता र संवादपछि हामी तीनै निकाय (नेपाल मोबाइल व्यवसायी महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसिएसन र नेपाल मोबाइल वितरक संघ) एकताबद्ध भएर मार्जिनलगायत तीनै निकायले उठाएका अन्य जायज मुद्दाहरूको विषयमा संयुक्त रूपमा अघि बढ्ने निष्कर्षमा पुगेका छौँ’, सहमतिपछि शुक्रबार तीनै संस्थाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मङ्सिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्ने गरि साझा सहमति बनेको उल्लेख छ ।

‘धनगढी घटनापछि सबै पक्षबाट भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्न हामी तयार रहेका छौँ । साथै सो घटनापछि व्यावसायिक वातावरण प्रतिकूल हुने गरी कुनै पनि काम कारबाही नहुने वातावरण बनाउन हामी सबै पक्ष सहमत भएका छौँ । हामी बिचमा भएका यी सहमतिपछि मोबाइल व्यवसायी महासंघले घोषणा गरेका सबै संघर्षका कार्यक्रम हाललाई स्थगित गरिएको सबै सरोकारवालामा जानकारी गराउँदछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप