पोखरा एभेन्जर्ससँग तीन वर्षका लागि जोडिए दक्षिण अफ्रिकाका महान क्रिकेटर जोन्टी रोड्स
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक पोखरा एभेन्जर्सले आफ्नो समयका प्रभावशाली दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्ससँग तीन वर्षका लागि सम्झौता गरेको छ ।
पोखरा एभेन्जर्सका अनुसार, क्लबले ५५ वर्षीय जोन्टी रोड्ससँग मेन्टरका रुपमा तीन वर्षका लागि सम्झौता गरेको हो । विश्व क्रिकेटकै सर्वकालीन महान फिल्डरमध्येका एक जोन्टी रोड्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब लखनउ सुपर जाइन्ट्ससँग पनि जोडिएका छन् ।
आगामी एनपीएलका लागि नेपाली क्लबहरुसँग विभिन्न भूमिकामा जोडिएका विश्व चर्चित क्रिकेटरमध्ये जोन्टी रोड्स पनि एक हुन् । जोन्टी रोड्सले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र दुई सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जोन्टी रोड्सले टेस्ट क्रिकेटको ८० पालीमा कुल दुई हजार पाँच सय ३२ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन सतक र १७ अर्धसतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय १७ रन हो ।
यसैगरी, उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दुई सय २० पालीमा कुल पाँच हजार नौ सय ३५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई सतक र ३३ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय २१ रन हो ।
जोन्टी रोड्स आफ्नो समयका प्रभावशाली फिल्डर पनि हुन् । उनी फिल्डरको भूमिकामा रहँदा त्यतिबेलाका विश्वका चर्चित ब्याट्सम्यानहरु पनि खुलेर ब्याटिङ गर्न डराउँथे । त्यसैले उनलाई ‘खुट्टामा चक्का जोडिएका क्रिकेटर’ भनेर पनि सम्बोधन गरिन्थ्यो ।
जोन्टी रोड्सले टेस्ट क्रिकेटमा ३४ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय पाँचवटा क्याच लिएका छन् । यो तथ्याङ्कले पनि उनको फिल्डिङ क्षमतालाई दर्शाउँछ । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेटमा एक सय २७ र लिस्ट ‘ए’ क्रिकेटमा एक सय ५८ वटा क्याच लिएका छन् ।
पोखरा एभेन्जर्सले हालसम्म तीनजना विदेशी खेलाडी पनि भित्राइसकेको छ । आगामी एनपीएलका लागि पोखरा एभेन्जर्सले विदेश खेलाडीका रुपमा वेस्ट इन्डिजका अलराउन्डर खेलाडी एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई अनुबन्ध गरेको हो ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महंगोमा बिक्री भएको क्लब पनि हो ।
पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । केही समयअघि काठमाडौँमा सम्पन्न खेलाडी अक्सन (खरिद–बिक्री प्रक्रिया) मा पोखरा एभेन्जर्सले एक खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ खर्चिएको थियो । पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सागर ढकाल हुन् ।
यसैगरी, पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँमा खरिद गरेको थियो । पोखरा एभेन्जर्सले चारजना खेलाडीका लागि १०–१० लाख रुपैयाँ र दुईजना खेलाडीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो ।
पोखरा एभेन्जर्सले १० लाख रुपैयाँमा किनेको खेलाडी किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलिप नाथ हुन् । पोखरा एभेन्जर्सले पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी तृतराज दास र सुनाम गौतम हुन् ।
यसैगरी, पोखरा एभेन्जर्सले दिनेश खरेल र अमृत गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । पोखरा एभेन्जर्सले अक्सनमा कुल ८० लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण