काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा रास्वपाका ५१ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा प्रदर्शनकारीहरू बालुवाटारस्थित निषेधित क्षेत्रभित्र घुस्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको रास्वपाको आरोप छ । राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै आन्दोलन गरिएको रास्वपाले जनाएको छ ।
प्रदर्शनका क्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दुई तिहाइको सरकारले आफ्ना सभापतिलाई प्रतिशोधका आधारमा पक्राउ गरेको बताए ।
उनले हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने भएकाले तत्काल थुनामुक्त गर्न आग्रह समेत गरे । अर्यालले अदालतले दिने आदेशलाई रास्वपाले सम्मान नै गर्ने उल्लेख गरे ।
यस्तै अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताए । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरे ।
यसैबीच कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि न्यायिक प्रक्रिया चल्दै गर्दा रास्वपाका नेता कार्यकर्ताले भने निरन्तर प्रदर्शन गर्दै सरकारको कडा आलोचना गर्दै आएका छन् । सोहीअनुसार मंगलबार बालुवाटार क्षेत्रको प्रदर्शन करिब ३ घण्टा चलेको थियो ।
काठमाडौँ । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित ५१ जना रिहा भएका छन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।
बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा एसपी नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको उनले बताए । रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई तिहारपछि रुपन्देही लैजाने तयारी गरिएको छ । रुपन्देही जिल्ला अदालतबाट यसअघि नै उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
तिहार बिदा सुरु हुन लागेकाले रुपन्देही लगेपनि अदालत पेस गर्ने अवस्था नहुने भएपछि तिहारपछि मात्रै लैजान लागिएको प्रहरीले जनाएको छ । ‘बिहीबारदेखि तिहार बिदा सुरु हुन्छ । लगेर पनि काम भएन,’ प्रहरी स्रोत भन्छ,‘अब तिहारपछि नै होला ।’
सहकारी ठगीमा हाल लामिछानेको कास्कीमा बयान हुँदै आएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा थुनामा रहेका बेला सोही पार्टीका नेताले प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेटवार्ता गरेका छन् ।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि अनुसन्धान गर्न सभापति लामिछानेलाई प्रहरीले २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेको हाल पोखरामा बयान जारी छ ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी थुनामा राखेको भन्दै रास्वपाले कात्तिक ३ गतेदेखि नै विरोध प्रदर्शन गरिरहेको छ । विरोध प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र सरकारलाई चर्को गाली गरिरहेका छन् ।
काठमाडौँ । सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार गरेको प्रदर्शनका क्रममा ५१ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन् । ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ ।
६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘कालीमाटी वृतमा दर्ता भएको थियो, हामीले सो फाइल परिसरमा ल्याएर अनुसन्धान थालेका छौँ ।’
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन् । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरे ।
सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक संघर्षमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सरकार भने दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने ध्यानमा रहेको बताए । वाग्लेले सरकार आफूहरूलाई थर्काउने धम्काउने गलाउने रणनीतिमा लागेको भन्दै विरोध गरे ।
‘धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई उन्मुक्ति दिने । जीबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन‚’ उनले भने ।
काठमाडौँ । सहकारीको बचत रकम गोरखा मिडिया नेटवर्कमा आएपश्चात् अपचलनमा संलग्न भएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि रास्वपा सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । पार्टी भने उनलाई न्याय दिनुपर्छ भन्दै सडक केन्द्रित आन्दोलनमा छ ।
आन्दोलनको क्रममा रास्वपाले पार्टीको झन्डा नभइ राष्ट्रिय झन्डाको प्रयोग गरेको छ । पार्टीले मंगलबार सडक आन्दोलन गर्दा पनि बालुवाटारमा सहभागीको हातमा राष्ट्रिय झन्डा देखिएको छ ।
यही विषयमा रातोपाटीले रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई 'पार्टीको आन्दोलनमा राष्ट्रिय झण्डामात्र प्रयोग भएको' विषयमा प्रश्न गर्दा उनले आन्दोलनमा आम जनतालाई सहभागी गराउन राष्ट्रिय झन्डाको प्रयोग भएको बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले रास्वपाको आन्दोलन कमजोर बनाउन सत्ताले प्रयास गरिरहेको बताएकी छन् । उनले यसको सशक्त प्रतिरोध गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन् ।
सहकारी बचत अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक सङ्घर्षमा बोल्दै उनले आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोजेको आरोप लगाइन्।
‘तपाईँहरूले सक्दै सक्नु हुन्न यो प्रतिरोधलाई दबाउन सक्दै सक्नुहुन्न । हामीलाई तर्साउन गलाउन र कमजोर बनाउन तथा फुटाउने प्रयास यिनीहरूले गर्छन्‚’ उनले भनिन्‚ ‘हाम्रै दाजुभाइ दिदीबहिनी प्रयोग गरेर तर्साउँछन् यसको प्रतिरोध गर्नुपर्छ ।’
काठमाडौँ । रास्वपा सांसद सोवित गौतमले हिरासत बाहिर राखेर पार्टी सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न अनुरोध गरेकी छन् ।
बालुवाटारमा भएको सडक प्रदर्शनको क्रममा बोल्दै उनले आफूहरूले रवि लामिछानेलाई अनुसन्धान गर्न अवरोध नगरेको स्पष्ट पारिन् ।
तर उनले पुराना दलले कस्तो राजनीतिक संस्कार स्थापित गर्न खोजेको भन्दै प्रश्न समेत गरिन् । दलका नेतालाई इंगित गर्दै उनले ‘हजुरबुवा पुस्ता’ले यही हो राजनीतिक संस्कार सिकाउने भन्दै थप प्रश्न गरिन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरिरहेको बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउको विरुद्धमा प्रदर्शनमा सहभागी भएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भिड नियन्त्रणका लागि यथेष्ट मात्रामा प्रहरी परिचालन गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन जारी रहँदा कास्कीमा मंगलबार पनि उनको बयान हुने भएको छ ।
लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर साढे ८ घण्टा बयान लिएका थिए ।
लामिछानेको बयान नसकिएको र मंगलबार पनि निरन्तर बयान लिइने अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘बयान सकिएको छैन, आज पनि निरन्तर बयान लिन्छौँ ।’ यस्तै मंगलबार नै रास्वपाका नेता कार्यकर्ताले उनको रिहाइको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ३३ जनालाई प्रहरीले नियन्त्रणमा लएको छ ।
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापतिसमेत रहेका लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर साढे ८ घण्टा बयान लिएका थिए ।
लामिछानेको बयान नसकिएको र मंगलबार पनि निरन्तर बयान लिइने अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘बयान सकिएको छैन, आज पनि निरन्तर बयान लिन्छौँ ।’
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।
काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न दबाब दिँदै रास्वपाका नेता कार्यकर्ताले मंगलबार बालुवाटारमा प्रदर्शन गरेका छन् ।
निषेधित क्षेत्र नजिक भेला भएका नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको दाबीसहित रिहाइको माग गरेका छन् ।
पार्टीको आफ्नै झन्डा भएपनि नेता कार्यकर्ता राष्ट्रिय झन्डासहित प्रदर्शनमा आएका छन् । उनीहरूले आफूहरू शान्तिपूर्ण प्रदर्शनमा रहेकाले धरपकडको विरोध समेत गरेका छन् । मंगलबार प्रदर्शन सुरु हुनासाथ प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र छाड्न अल्टिमेटम दिएको छ ।
शुक्रबार अर्थात् कार्तिक २ गते सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले सडक आन्दोलन गरिरहेको छ । सो क्रममा आज बालुवाटार केन्द्रित आन्दोलन गरिरहेको छ । आन्दोलनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नेता कार्यकर्ता पक्राउ गरेको छ ।
त्यसपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सांसद हरि ढकालले भने‚‘आधा घण्टाको बिचमा प्रहरीले हाम्रा साथीहरू छुटाएनन् भने हाम्रो आजको आन्दोलन सशक्त पार्छौँ।’
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार गरेको बालुवाटार केन्द्रित प्रदर्शनका क्रममा पक्राउ पर्नेको सङ्ख्या ३३ जना पुगेको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोज्ने नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ। प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्रतर्फ अघि नबढ्दै प्रहरीले पक्राउ गरेको गुनासो गरेका छन् ।
बालुवाटार क्षेत्रमा रहेका उनले रातोपाटीसँग कुराकानी गर्दै शान्तिपूर्ण प्रदर्शनमा प्रशासनले बाधा पुराइरहेको बताए । ‘हामी भाटभटेनी एरियामा छौँ । हाम्रा साथीहरूलाई देख्नै बित्तिकै नियोजित रूपमा प्रहरीले पक्राउ गरिरहेको छ‚’ रातोपाटीसँग उनले भने ।
बुर्लाकोटीका अनुसार हालसम्म सांसद अशोक चौधरी सहित १७ जना पक्राउ परेका छन् । शुक्रबार अर्थात् कार्तिक २ गते सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । त्यसपश्चात् पार्टी हाल काठमाडौँ केन्द्रित आन्दोलनमा जुटेको छ । रास्वपाले आज बालुवाटारमा वृहत् आन्दोलन गर्ने भन्दै तयारी सहित सडकमा उत्रिएको छ ।
काठमाडौँ । रास्वपाका नेता कार्यकर्ताले बालुवाटारमा राष्ट्रिय झन्डासहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने सभापति रवि लामिछानेलाई रिहाइको माग गरिरहेका छन् ।
उनीहरु निषेधित क्षेत्रतर्फ अगाडि बढिरहेका छन् ।तर, प्रहरीले उनीहरूलाई प्रवेश दिएको छैन ।
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरी सहित उनीहरू पक्राउ परेका हुन् ।
यी हुन् प्रहरी मङ्गलवारको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेता कार्यकर्ता
सूर्यदर्शन बचत तथा ऋण सहकारी र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएका १९ जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी हिनामिना प्रकरणमा प्रहरीले १३ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ । कास्की जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस्तै, बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएकामध्ये दुवै सहकारीको रकम हिनामिनामा संलग्न ४ जना रहेको प्रहरीले जनाएको छ । गोर्खा मिडिया नेटवर्कका सञ्चालक विशाल तामाङसहित चार जना सुप्रिम र सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको अनुसन्धान अधिकृतको भनाइ छ ।
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएको छ ।
आज बालुवाटारमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडप भएको छ । सो क्रममा रास्वपाका १५ कार्यकर्ता पक्राउ परेका छन् ।
काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा सुरु गरेको प्रदर्शनका क्रममा केही नेता कार्यकर्ता पक्राउ परेका छन् ।
विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने काम भएको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरि, ध्रुव ढकाल र सवि खड्कालगायत पक्राउ परेको उनको भनाइ छ ।
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले बालुवाटारमा तय गरेको प्रदर्शनको सुरुवातमै प्रहरीले हस्तक्षेप गरेको छ ।
१२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई पक्राउ गरेको हो । रास्वपाका नेता गणेश पराजुलीले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने तय भएकाले प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय भएको बताए ।