फेरिँदै देउसी भैलोको स्वरूप
गलेश्वर ।
“आहै चिप्लोमा बाटो, देउसी रे ।
आहै अँध्यारो रातमा, देउसी रे ।
आहै लड्दै र पड्दै,देउसी रे ।
आहै केराको थम्बा, देउसी रे ।
आहै १० भाइ जम्मा, देउसी रे ।”
हिन्दू धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्मोनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् ।
तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आर्शीवाद दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताए । केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसी भैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उनले सरम्परा हराउनेमा चिन्ता व्यक्त गरे ।
हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसी भैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताए । यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्धवृद्धालाई असहज हुने उनले उल्लेख गरे ।
बेनीका नैनकुमार श्रेष्ठले भने, “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरु सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।” केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उनले चिन्ता व्यक्त गरे ।
बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरु बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताए । बेनीका लोक संस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गरे ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोक संस्कृतिका जानकार श्रेष्ठले बताए ।
भाइटीकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरे । उनका अनुसार यस दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भनी कामना गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण