बजारमा सकिए सस्ता सेयर
काठमाडौँ । चार महिनाअघि अर्थात् असार १७ गते दोस्रो बजारमा कारोबार हुने सेयरमध्ये २३ वटाको मूल्य २०० रुपैयाँभन्दा कम थियो । यो सूचीमा १० वटा त वाणिज्य बैंक मात्रै थिए ।
कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, एनएमबि बैंक र प्राइम कमर्शियल बैंक सस्तो सेयर भएका कम्पनीमा पर्थे ।
त्यसबाहेक नेपाल इन्फास्ट्रक्चर बैंक, नेशनल हाइड्रो, घलेम्दी हाइड्रो, अरुण भ्याली, सिंगटी, अपर तामाकोसी, अरुण काबेली, रिडी, एचआईडीसीएल, अपी, शिवश्री, लिबर्टी र युनिभर्सल पावर कम्पनी समेत गरी ११ वटा हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि २०० रुपैयाँ भन्दा कम थियो । यसमध्ये सबैभन्दा कम मूल्य भएका नेशनल हाइड्रोपावर र कुमारी बैंकको मूल्य १३८ रुपैयाँ थियो ।
अहिले चार महिनाको अन्तरालमा भने अवस्था परिवर्तन भएको छ । सस्तो मूल्यका सेयरहरु अहिले बजारमा सकिएका छन् । तिहार सुरु हुनुअघि कात्तिक १४ गतेसम्म बजारमा कुनै पनि कम्पनीको साधारण सेयर यो रेन्जमा पाउन छाडिएको छ । अहिले सबैभन्दा सस्तो रहेको आँखुखोला जलविद्युत्को सेयरको अन्तिम कारोबार मूल्य २१३ रुपैयाँ छ । बैंकिङ क्षेत्रको सबैभन्दा सस्तो रहेको कुमारी बैंकको सेयर मूल्य २३० रुपैयाँ छ ।
यस्तो छ सूचीकृत कम्पनीको सेयर मूल्य
अहिले दोस्रो बजारमा सूचीकृत कम्पनीका साधारण सेयर २१३ रुपैयाँदेखि ४८ हजार रुपैयाँसम्म अन्तिम कारोबार भएको छ । यीमध्ये चार वटा कम्पनीको सेयर १० हजार रुपैयाँभन्दा बढी छ । युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ४८ हजार रुपैयाँ छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको र बोटलर्स नेपालको सेयर १७÷१७ हजार र बोटलर्स नेपाल तराईको १४ हजार ४०४ रुपैयाँ छ । यी कम्पनीको सेयर मूल्य चार महिना अगाठी पनि १० हजार भन्दा माथिकै रेन्जमा थिए ।
१० हजार रुपैयाँभन्दा कम मूल्य भएका महँगा सेयरमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनको ५ हजार ९०३ रुपैयाँ, आत्मनिर्भर लघुवित्तको ४ हजार ९५० रुपैयाँ, विशाल बजार कम्पनीको ४ हजार २२० रुपैयाँ, समाज लघुवित्तको ३ हजार ६९० रुपैयाँ तथा उपकार लघुवित्तको ३ हजार १४५ रुपैयाँ रहेको छ । गत जुलाईमा साल्ट ट्रेडिङको प्रतिसेयर मूल्य ४ हजार ५३३ रुपैयाँ, विशाल बजारमा ३ हजार ९२१ रुपैयाँ, समाज लघुवित्तको २५९९ रुपैयाँ र नागरिक लगानी कोषको सेयर मूल्य २ हजार ५८ रुपैयाँ थियो ।
अहिले सातवटा कम्पनीको दुई हजार रुपैयाँको रेन्जमा कारोबार भइरहेका छन् । जबकि अघिल्लो समीक्षा अवधिमा यो सङ्ख्या तीन वटा मात्रै थियो । त्यस्तै, थप १४ वटा कम्पनीको कारोबार एक हजार पाँच सयभन्दा बढी तथा थप २८ कम्पनीको मूल्य एक हजार रुपैयाँभन्दा धेरै रहेको छ । यसअघि यो सङ्ख्या क्रमशः ९ र २९ थियो ।
त्यस्तै, अहिले ९०० रुपैयाँको रेन्जमा १७ वटा, ८०० को मा १२ वटा, ७०० सयमा २९ वटा, ६०० को रेन्जमा २७ वटा, ५०० को रेन्जमा सेयर मूल्य रहेका २१ वटा कम्पनी छन् । चार महिनाअघि यो सङ्ख्या क्रमशः ७, १०, १३, २२ र ३२ वटा थियो ।
त्यस्तै, अहिले ४०० को रेन्जमा ३२ वटा, ३०० को रेन्जमा १८ वटा र २०० को रेन्जमा ३५ वटा कम्पनीको सेयर मूल्य रहेकोमा यसअघि यो सङ्ख्या क्रमशः ४०, २८, २४ थिए । २३ वटा कम्पनीको सेयर मूल्य त्यतिबेला एक सय रुपैयाँको रेन्जमा रहेका थिए ।
अहिले सेयर बजारमा २५० रुपैयाँ भन्दा कम मूल्य भएका १५ वटा कम्पनी छन् । ती कम्पनीहरूमा आँखुखोला जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, हिमालयन उर्जा, अपर तामाकोसी, शिवश्री हाइड्रो, घलेम्दी, नेशनल हाइड्रो, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, रिडि हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, दिव्यश्वरी हाइड्रो र सिंगटी हाइड्रोपावर छन् ।
चार महिना अघि समग्र बजार परिसूचक २०५३.३८ अंकमा थियो । अहिले बजार परिसूचक २६७७.६२ अंकमा पुगेको छ । उतारचढावपूर्ण अवस्थाबिच यो अवधिमा बजार परिसूचक २०३६.६४ को विन्दुसम्म पुगेको थियो । समग्र बजार बढ्दा सबैजसो मूल्य कम्पनीको मूल्य बढे पनि सस्तो मूल्य भएका सेयर भने तुलनात्मक रूपमा धेरै बढेको देखिएको छ ।
जसले कमाए
दसैँदेखि तिहारसम्मको अवधिमा सात वटा कम्पनीका सेयरधनीले २० प्रतिशत भन्दा धेरै रकम कमाएका छन् । अक्टोबर ९ देखि अक्टोबर ३० सम्मको अवधिमा यी कम्पनीका सेयरको मूल्य २० प्रतिशत भन्दा धेरैले बढेका हुन् ।
यसरी धेरै कमाउने कम्पनीहरूमा कुथेली भुकारी स्मल हाइड्रोपावर (३८.५६ प्रतिशत), पिपुल्स हाइड्रोपावर कम्पनी (३१.९८ प्रतिशत), मकर हाइड्रोपावर (२४.३९ प्रतिशत), समृद्धि फाइनान्स (२३.९९ प्रतिशत), जानकी फाइनान्स (२१.८८ प्रतिशत), रिभर फल्स पावर (२१.०५ प्रतिशत) र समाज लघुवित्त (२०.९८ प्रतिशत) रहेका छन् ।
त्यसबाहेक योबीचमा थप १४ कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । यो अवधिमा १८६ वटा कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ । चार कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम हालचाल : कुनै विशेष प्रणाली सक्रीय नरहेपनि वर्षाको सम्भावना
-
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
-
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो