बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन : भड्केला व्यापार युद्ध ?

बिहीबार, २२ कात्तिक २०८१, १६ : २६
बिहीबार, २२ कात्तिक २०८१

वासिङटन डीसी । डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमै आफू पुनः ह्वाइट हाउसमा फर्किए भने अमेरिकामा आयात हुने सबै वस्तुमा कर लगाउँछु भनेका थिए । राष्ट्रपतिको निर्वाचनमा उनको जितसँगै ट्रम्प यस विषयमा कत्तिको गम्भीर छन् भनेर विश्वभरका व्यवसाय र अर्थशास्त्रीहरूलाई छटपटी हुन थालेको छ ।

विगतमा पनि ट्रम्पले चीन र स्टिललगायत निश्चित उद्योगका उत्पादनमाथि अतिरिक्त कर लगाएका थिए । उनले आफ्नो चुनावी अभियानको प्रतिज्ञामा ट्रम्पले विश्वभरबाट आउने सबै विदेशी सामानमा १० देखि २० प्रतिशत कर लगाउने भनेका थिए ।

गत महिना उनले युरोपको नाम नै तोके । ‘युरोपेली सङ्घ (ईयू) कति मिठो कुरा गर्छ, कति मायालु बन्छ, होइन ? तर सबै युरोपेली देश मिलेका छन्... तिनीहरूले हाम्रो कार किन्दैनन् । तिनीहरूले हाम्रो कृषिजन्य उत्पादन पनि लिँदैनन्’ उनले भनेका थिए ।

‘उनीहरूले अमेरिकामा करोडौं करोड कार बेच्छन् । अहँ, यो त हुँदै हुन्न् । यसका लागि उनीहरूले ठुलो मूल्य चुकाउनै पर्छ ।’ राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितको घोषणा भएसँगै बीएमडब्ल्यू, मर्सिडिज र फक्सवागन सबै अटो निर्माता कम्पनीको शेयर मूल्य ५ देखि ७ प्रतिशतसम्म घटेको थियो । जर्मन कार निर्माताका लागि अमेरिका एक्लो ठुलो निर्यात बजार हो ।

आफ्नो चुनावी अभियानको बेलामा ट्रम्पले चीनलाई उसको हैसियत देखाउन र गैरकानुनी आप्रवासन रोक्नेसम्मका असङ्ख्य समस्याका अतिरिक्त महसुल एक मात्रै उत्तर भएको बताएका थिए । ‘शब्दकोशमा ‘अतिरिक्त महसुल’ सबैभन्दा सुन्दर शब्द हो’ समेत उनले भने । आफूले स्पष्टसँग प्रयोग गर्न चाहेको÷खोजेको यो एक मात्र हतियार भएको उनको भनाई थियो । उनको यो अभिव्यक्ति र कदम कति चीनतिर लक्षित छ भन्न सकिँदैन ।

ईयूसमेत केहीले अमेरिकालाई जस्ताको त्यस्तै व्यवहार गर्ने नीति अनुसार प्रतिकारात्मक अतिरिक्त महसुल लगाउने योजना बनाइसकेका छन् । गएको हप्ता जी सेभेनका सदस्य देशका मन्त्रीहरूले ट्रम्पको नेतृत्वको अमेरिकालाई विश्व अर्थतन्त्र उसलाई सहयोगी देशहरू पनि चाहिन्छ है भनेर सम्झाउने कोसिस गर्ने बताएका थिए । उनीहरू अमेरिकासँग व्यापार युद्ध सुरु गर्न चाहँदैनन् । तर मजबुत बृहत् शक्ति प्रयोग गरियो भने युरोपले पनि तत्कालै आफ्नो प्रतिकारबारे सोच्नेछ ।

विगतमा पनि अमेरिकाले स्टिल र आल्मुनियममाथि अतिरिक्त महसुल लगाएपछि ईयूले हार्ले डेभिडसन मोटरसाइकल, बर्बन ह्विस्की र लिभाइस जिन्सजस्ता उत्पादनमाथि अतिरिक्त महसुल लगाएको थियो । अमेरिकाले लगाउने अतिरिक्त महसुलले मात्रै युरोपमा महँगी बढाउने छैन ।

यो सबै उसले यसप्रति दिने प्रतिक्रियामा भर पर्ने यूरोजोनका एक शीर्ष केन्द्रीय बैंकरले बीबीसीलाई भनेका छन् । ठुलै व्यापार युद्ध छेडिएमा विश्व अर्थतन्त्रमा ७ प्रतिशत अर्थात् फ्रान्स र जर्मनीको अर्थतन्त्र जोडेर हुने क्षति घाटा हुने गत महिना आईएमएफले भनेको थियो ।

अमेरिकाको मात्रै कुरा छोडौँ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रले व्यापार संरक्षणवादको नीति अपनाउन थाल्यो भने अन्य साना अर्थतन्त्र भएका देशहरूलाई यस्तो नगर भनेर भन्न वा नगर्न फकाउन गाह्रै हुनेछ । ट्रम्पको चेतावनी सतही हुन पनि सक्छ । तर यतिखेर ठ्याक्कै यही भन्न गाह्रो छ । तर यसैबाट गम्भीर व्यापार युद्ध सुरु नहोला भन्न पनि सकिन्न ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप