१२ बजे, १२ समाचार : 'मन्त्रिपरिषद्को निर्णयमा कुलमानको फरक मत' देखि 'अख्तियारका आयुक्त नै भ्रष्ट !' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
आजका मुख्य समाचारमा लाल आयोगको प्रतिवेदन सार्वजनिक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावकारी नभएको सांसदको गुनासो, प्रहरी हिरासतभित्रै रास्वपाको बैठक !, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, स्थानीय तह उपनिर्वाचन : उम्मेदवार छान्दै दलहरू, बैंकिङ कसुरका थुनुवासँग गफ गरेर समय कटाउँछन् लिलाबल्लभ लगायत छन् ।
१. लाल आयोगको प्रतिवेदन सार्वजनिक
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो ।
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावकारी नभएको सांसदको गुनासो
भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका प्रभावकारी नदेखिएको भन्दै सांसदहरूले गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले आयुक्तहरू नै विभिन्न काण्डमा जोडिएको भन्दै दलीय भागबण्डाका आधारमा हुने नियुक्तिले प्रभावकारिता नदेखिएको बताए ।
३. प्रहरी हिरासतभित्रै रास्वपाको बैठक !
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमै पार्टीको अनौपचारिक बैठक आयोजना गरेका छन् । सोमबार उनलाई भेट्न पुगेका रास्वपाका नेताहरूसहित बैठक बसेको हो ।
४. मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । यस्तै ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
५. स्थानीय तह उपनिर्वाचन : उम्मेदवार छान्दै दलहरू
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोटलाई अन्तिम रूप दिन व्यस्त छन् । अधिकांश स्थानमा प्रमुख दलहरूले उम्मेदवार छानिसकेका छन् भने केहीमा टुङ्गो लाग्न बाँकी रहेको सम्बन्धित दलको भनाइ छ ।
६. बैंकिङ कसुरका थुनुवासँग गफ गरेर समय कटाउँछन् लिलाबल्लभ
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी हिरासतमा बैंकिङ कसुरका थुनुवासँग गफ गरेर समय कटाउने गरेका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका उनले सादा खाना खाने गरेका छन् ।
७. नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अधिवेशन सुरु
नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले सोमबार अधिवेशन उदघाटन गरेका हुन् । मंगलबारसम्म चल्ने अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।
८. माओवादीले बोलायो केन्द्रीय समिति बैठक
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।
९. यी हुन् संसदमा बोली बिक्ने सांसद
संसदमा प्रतिनिधित्व गर्ने २७३ सांसदले आ–आफ्नो विषय आफ्नै शैलीमा राख्ने भए पनि सबै ‘माननीय’ले बोलेका विषय समान चासोका साथ हेरिँदैन । सञ्चारमाध्यममा पनि सबै सांसदले बोलेका विषय समाचार बन्दैनन् । जसले फरक ढङ्गबाट कुरा उठाउन सक्छ, उसले बोलेका विषयमा मात्र सञ्चार माध्यमले समाचार बनाउने गर्छन् । यहाँ तिनैमध्ये केही मुख्य सांसदको चर्चा गरिएको छ ।
१०. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अब गति लिन्छ ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले बढेको अन्तर्राष्ट्रिय उडानले सबै उत्साहित छन् । यसलाई नियमित गर्ने चुनौती भने बाँकी नै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को सञ्चालन सामान्य अवस्थामा पुगेपछि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाइरहन्छ कि फेरि बन्द हुन्छ भन्नेमा धेरैको चासो छ ।
११. अजरबैजानमा कोप-२९
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) सोमबारदेखि यहाँ प्रारम्भ भएको छ । नेपालले यस सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ ।
१२. ग्वार्को फ्लाइओभर निर्माणको काम सुस्त
ग्वार्को फ्लाइओभर निर्माण यसअघि थप गरिएको पुस ८ गतेभित्र नसकिने भएको छ । फ्लाइओभरको निर्माण कार्य सम्पन्न गर्नका लागि दोस्रो पटक म्याद थप गर्नुपर्ने देखिएको छ । यसका लागि फेरि तीन महिना म्याद थप गर्नुपर्ने सडक विभाग गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमले भित्र्यायो क्यानडाका बाजवा
-
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु
-
मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध
-
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ
-
लोकतन्त्रमा देखिने गरी काम भएको छ : महासचिव पोखरेल
-
विराटनगर घोषणापत्र जारी गर्दै बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न