बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

तिलकको शानदार शतकमा भारतको रोमाञ्चक जित

बिहीबार, २९ कात्तिक २०८१, ०९ : २७
बिहीबार, २९ कात्तिक २०८१

सेन्चुरियन । घरेलु टोली दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित हात पार्दै भारतले टी–२० शृङ्खलामा २–१ को अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा भारत ११ रनले विजयी बनेको हो ।

भारतले प्रस्तुत गरेको २ सय २० रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि मार्को यानसेनले विस्फोटक इनिङ्स खेल्दै मात्र १७ बलमा सर्वाधिक ५४ रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै, विकेटकिपर हेनरिच क्लासेनले २२ बलमा ४१ रन जोडे । उनले १ चौका र ४ छक्का हिर्काए । कप्तान एडेन मार्क्रमले २९ रन, रिजा हेन्ड्रिक्सले २१ रन तथा रायन रिकेलटनले २० रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले ४ ओभर बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए । वरुण चक्रवर्तीले २ तथा हार्दिक पाण्ड्या र अक्षर पटेलले १–१ विकेट हात पारे ।

यसअघि तिलक वर्माको शानदार शतकको मद्दतले भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । वर्माले ५६ बलमा १ सय ७ रन बनाउँदै नटआउट रहे । उनले ८ चौका र ७ छक्का प्रहार गरे । 

अभिषेक शर्माले २५ बलमा ५० रनको योगदान दिए । उनले ३ चौका र ५ छक्का हिर्काए । हार्दिक पाण्ड्याले १८ रन तथा रमनदीप सिंहले १५ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि एन्डिले सिमेलाने र केशव महाराजले २–२ विकेट लिए भने मार्को यानसेनले १ विकेट हात पारे ।

चार खेलको शृङ्खलाको पहिलो खेल भारतले ६१ रनले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली ३ विकेटले विजयी बन्यो । अब चौथो खेल शुक्रबार जोहानेसबर्गमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप