शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा माओवादीका उम्मेदवार शिवशरण महर्जनले सार्वजनिक गरे २८ बुँदे प्रतिबद्धता पत्र

बिहीबार, २९ कात्तिक २०८१, १६ : २१
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयर पदका उम्मेदवार प्राडा. शिवशरण महर्जनले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

‘नगरपालिकाको संस्थागत सुधार समृद्ध कीर्तिपुरको आधार’ ‘भ्रष्टाचार विरुद्ध निरन्तर अभियान–गोलाकार भित्रको हँसिया हथौडामा मतदान’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

वाम बुद्धिजिवी तथा लामो समय सामाजिक काममा सक्रिय रहेका उनी २०७९ को निर्वाचनमा चार हजार ९० मत सहित तेस्रो भएका थिए । 

महर्जनले आफूले नगर प्रमुख जितेमा स्ववासी वेनिस्सा(लालपुर्जा)को समस्या समाधान गर्ने, सरकारी पीडितलाई न्याय दिन पहल गर्ने, विद्युत् र खानेपानीको न्यूनतम खपत निःशुल्क गर्ने, त्रिवि हाताभित्र शिक्षण अस्पताल निर्माण सम्पन्न गरी नगरवासीलाई सहुलियत सेवा उपलब्ध गराउने लगायत प्रतिबद्धता जनाएका छन् । 

के छ महर्जनको प्रतिबद्धता पत्रमा ? 

१. स्ववासी वेनिस्सा(लालपुर्जा)को समस्या यथाशीघ्र समाधान गर्न ।

२. फोहोरमैला निःशुल्क सङ्कलन गर्न ।

३. विद्युत् र खानेपानीको न्यूनतम खपत शुल्क मिनाहा गर्न ।

४. घरघरमा खानेपानीको समानुपातिक वितरण तथा सुविधा विस्तार

गर्न ।

५. नगरभित्रका सबै स्थानमा सडक सञ्जाल बिस्तार गरी कच्ची सडक रहित सहर बनाउन र यातायात सुलभ बनाउन ।

६. विष्णुदेवी अस्पताललाई भौतिक पूर्वाधारसहित तत्काल २५ शय्याको बनाई नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न ।

७. स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी बजारीकरण व्यवस्थित गर्न ।

८. निर्माण सम्पन्न हुन नसकेको खेल मैदानलाई यथाशीघ्र निर्माण गरी प्रयोगमा ल्याउन ।

९. त्रि.वि. हाताभित्र शिक्षण अस्पताल निर्माण कार्य सम्पन्न गरी कीतिपुरवासीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन । 

१०. त्रि.वि. सँग समन्वय गरी हरेक क्षेत्रमा कीर्तिपुरवासीलाई निश्चित कोटाको व्यवस्था गर्न ।

११. विद्युत्को अव्यवस्थित तार तथा केवल लाइनलाई व्यवस्थित गरी नगरको मुख्य क्षेत्रमा सि. सि. टि.भि जडानसहित सुरक्षित सहर बनाउन ।

१२. नगरपालिकालाई सुशासन सहित भ्रष्टाचार मुक्त बनाउन । 

१३. महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भरता सुनिश्चित गर्न दीर्घकालीन विशेष परियोजना सञ्चालन गर्न ।

१४. नगरभित्रका सबै शिक्षालयमा प्राविधिक शिक्षा लागु गरी युवाहरूलाई स्वरोजगारमुखी र स्वावलम्बी बनाउन ।

१५. पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौँडा जाने बाटो निर्माण गर्न ।

१६. अपाङ्गता (बौद्धिक, मानसिक र शारीरिक) भएका व्यक्तिहरूलाई पुरस्थापना गर्न । अशक्त अपाङ्गका घर घरमा स्वास्थ्य सेवा दिन ।

१७ नगरपालिका भित्रका सबै भूगोलहरूका समानुपातिक वितरण सुनिश्चित गर्न ।

१८. विकास निर्माणसँग सम्बद्ध कार्यहरूलाई सर्वपक्षीय बनाउन र पारदर्शीरुपमा परिचालन गर्न ।

१९. सतुङगल चोभार (सुख्खा बन्दरगाह) सडक निर्माण गर्न ।

२०. पर्यटन विकासका लागि सांस्कृतिक तथा जातीय संग्राहलय स्थापना गर्न ।

२१. कीर्तिपुर नगरपालिकालाई लागु औषध दुर्व्यसनमुक्त पालिका बनाउन । २२. कीर्तिपुरका युवा विद्यार्थीहरुका लागि शैक्षिक ऋण सहज उपलब्ध

गर्न ।

२३. सूचना प्रविधिमैत्री कीर्तिपुर सहर निर्माण गरी युवाहरूलाई स्वरोजगारणमुखी बनाउन ।

२४. कीर्तिपुरवासी राष्ट्रियस्तरका खेलाडीहरूलाई मासिक भत्ता सुनिश्चित गर्न ।

२५. बालबालिका तथा युवाहरूलाई खेलकुद क्षेत्रमा पहुँच सुनिश्चित गर्न नगर खेलकुद परिषद् गठन गरी परिचालन गर्न ।

२६. चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउन ।

२७. कीर्तिपुरलाई छुवाछूतमुक्त नगर सहित सुकुम्वासी मुक्त क्षेत्र बनाउन । २८. सहकारी पीडितलाई बचत रकम फिर्ता गराउन पहल गर्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?