धानखेत बगरमा परिणत भएपछि बदाम खेतीबाट आयआर्जन गर्दै मोहनपुरवासी
धनगढी । कैलालीको कैलारी गाउँपालिका ३ मोहनपुरकी करिब ५५ वर्षीय रामदुलारी चौधरी पछिल्लो समय बदाम (मुमफली) खेती गर्दै आएकी छन् । मोहना नदीमा बर्सेनि आउने बाढीले धान रोप्ने खेत बगरमा परिणत गरेपछि उनले धानको सट्टा बदाम खेती गर्दै आएकी हुन् ।
चौधरीले यो वर्ष एक कट्ठा जमिनमा करिब एक क्विन्टल बदाम फलाएकी छन् । उनले भनिन्, ‘खेतमा धान हुँदैन । त्यही खेतमा बदाम लगायौँ । राम्रै फलेको छ । यसैले घरको गुजारा चल्छ ।’
कैलारी गाउँपालिका–३ का वडा सदस्य सैतुराम चौधरी पनि विगत १० वर्षदेखि बदाम खेती गर्दै आएका छन् । उनले मोहना नदीको बगरमा परिणत भएको ४ कट्ठा जमिनमा बदाम खेती गर्दै आएको जानकारी दिए ।
चौधरीले भने, ‘खेत सबै बालुवामा परिणत भएको छ । त्यसमा अन्य अन्न उत्पादन हुँदैन । तर बदाम भने राम्रै उत्पादन हुँदै आएको छ । यो वर्ष साढे २ क्विन्टल फलेको छ ।’
रामदुलारी र सैतुराम मात्रै होइन, ९३ घरधुरी रहेको मोहनपुर गाउँका हरेक व्यक्तिले पछिल्लो समय व्यावसायिक रूपमा बदाम खेती बढाएका छन् । चालु वर्ष ३ क्विन्टल बदाम फलाएका मोहनपुरकै दिनेश चौधरीले यसको बजार पनि राम्रो भएको बताए ।
घरबाटै बिक्री भइरहेको बताउँदै उनले काँचो बदाम प्रतिकिलो १६० र भुटेको प्रतिकिलो २०० मा बिक्री भइरहेको जानकारी दिए ।
कैलारी गाउँपालिका वडा नं. ३ स्थित मोहनपुरसँगै, भर्री, शिवरन्तपुर, वडा नं. ५ को विसनपुर, छोटी पलिया, वडा नं.७ को रतनपुर, भुइयाँफाँटा लगायतका गाउँका गरी करिब ५ सय बढी किसानले व्यावसायिक रूपमा बदाम खेती थालेका छन् ।
पछिल्लो समय बाढी प्रभावित बस्तीका स्थानीयहरू धान फल्ने खेतमा बदाम खेती गर्दै आएका हुन् । बाढी प्रभावितहरूको वैकल्पिक आयआर्जनको रूपमा बदाम खेती विस्तार हुँदै गए पनि स्थानीय तहले त्यसको प्रवर्द्धन तथा विकासको लागि कुनै कार्यक्रम नल्याएको किसानहरूको गुनासो छ ।
वडा सदस्यसमेत रहेका सैतुराम चौधरीले आफूले पालिकामा बदाम खेती प्रवर्द्धनका लागि माग गरे पनि सुनुवाइ हुन नसकेको बताए । गाउँपालिका कृषि शाखा प्रमुख मैयाँ चौधरीले पनि चालु आर्थिक वर्षमा धान, गहुँ, वसन्ते मकै, तरकारी खेती प्रवर्द्धन कार्यक्रम रहे पनि बदाम खेती प्रवर्द्धनको लागि कार्यक्रम नरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको तयारीसँगै विभिन्न अभियान सञ्चालन गर्दै नेविसंघ
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन
-
होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
-
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने
-
यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर