आइतबार, १३ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म

बिहीबार, २० मङ्सिर २०८१, २३ : ५७
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. वाइडबडी खरिद प्रकरण 
वाइडबडी खरिदको भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन्।, उनी कर्णाली प्रदेशका सांसद पनि हुन्। । चार नेपालीमात्र दोषी ठहर भएपछि शाहीसहितले सफाइ पाएका हुन्। । विशेष अदालतले विमान खरिदमा अनियमितता भएको भन्दै आंशिक ठहर गर्ने फैसला सुनाएको हो ।

२.  प्रधानमन्त्री स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए । प्रधामन्त्री केपी शर्मा ओलीले  चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको  प्रस्ट पारेका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको बताएका हुन् ।

३. अघि बढ्यो विद्यालय शिक्षा विधेयक
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’ माथि दफावार छलफल अघि बढाएको छ । बुधबारदेखि समितिमा दफावार छलफल सुरु भएको हो । समितिले मंसिर महिनाभरको बैठक र विधेयकमाथिको छलफल तालिका बनाएको छ । लामो समयदेखि समितिमा छलफलको क्रममा रहेको विधेयकमा दसैँ–तिहार बिदा अगाडि संशोधनकर्तासँग छलफल गरिएको थियो ।

५. गोपनीयताको हकमाथि हमला
कुनै अभियोग लागेर प्रहरीद्वारा पक्राउ परेका व्यक्तिको नाम दोषी ठहर हुनुअघि, अझ अनुसन्धान हुनुअघि नै सार्वजनिक गरिनु हामीकहाँ सामान्य हो । हाम्रो संविधानले मौलिक हकमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेको छ । यस्तै ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐनको दफा १७ मा अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुने उल्लेख छ ।

६. माओवादीको तयारी
भर्खर सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको नतिजाबाट निकै उत्साहित भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउने भएको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले चुनावी नतिजाबारे रिपोर्टिङसहित प्रारम्भिक समीक्षा गरेको हो । निर्वाचनको नतिजा उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । माओवादीले ओली सरकारविरुद्ध सातै प्रदेशमा खबरदारी गर्ने समेत बताएको छ ।

७. सट्टेबाजीमा भारतीय
नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । मङ्सिर १७ पछि पक्राउ परेका उनीहरू सबै भारतीय हुन् । पक्राउ पर्नेमा सुमन घोस, अमित यादव, ब्रजेशकुमार कुसवाह, सुमन्त कुमार, सन्दीपकुमार सिंह, प्रियन्सुकुमार सिंह र रोहित शर्मा छन् । उनीहरुले एनपिएल प्रतियोगिता भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

८. बढ्दो फिल्मको व्यापार
पछिल्लो समय फिल्मको व्यवसाय बढेसँगै फिल्म हलको सङ्ख्या पनि बढेको पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार हाल देशभर १५८ फिल्म हल सञ्चालनमा छन् । नेपाल चलचित्र संघले गत जेठमा देशभर १३८ फिल्म हल सञ्चालनमा रहेको जनाएको थियो । विकास बोर्डका अनुसार गत जेठदेखि मंसिरसम्म आउँदा २० वटा फिल्म हल बढेको देखिएको छ । जेठ यता हलको सङ्ख्यामा १४ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । तीमध्ये केही नयाँ खुलेका हुन् भने केही बन्द रहेका पुराना फिल्म फेरि सञ्चालनमा आएका हुन् ।

९. शेयर बजार
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार १५.३ अङ्कले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।

१०. गौतमबुद्ध विमानस्थल
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।

११. दक्षिण कोरिया
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मंगलबार राति पहिलो पटक देशमा मार्सल लको घोषणा गरेका थिए । तर चर्को दबाबपछि उनी त्यसलाई फिर्ता लिन बाध्य भए । उनले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिबाट देशलाई जोगाउन यो कदम चालिएको भन्दै आफ्नो कदमको बचाउ गरेका थिए । तर चाँडै यो निर्णय बाह्य धम्कीबाट नभई राष्ट्रपति युनको आफ्नै निराशाजनक राजनीतिक समस्याबाट प्रेरित थियो भन्ने स्पष्ट भएको थियो । 

१२. एनपीएल
नेपाल प्रिमियर लिग –एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूरपश्चिम रोयल्सले बिहीबार खेलिएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गरेको हो । यसैगरी, जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले बिहीबार खेलिएको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको सजिलो जित हासिल गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप