नेपाली कामदारका समस्या समाधान गरिदिन कोरियाली राजदूतसँग मन्त्रीको आग्रह
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई–योङ्ले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र दक्षिण कोरियाबिच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको थियो ।
विशेषगरी ईपीएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउने सम्बन्धी कार्यविधि लगायतका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।
त्यस्तै ईपीएस भाषा परीक्षा उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउन मन्त्री भण्डारीले अनुरोध गरेका थिए । त्यस्तै सीप बिल्डिङ लगायतका क्षेत्रमा छनोट भएका कामदारहरूले उठान गरेका मागका विषयमा समेत मन्त्री भण्डारीले राजदूतलाई अवगत गराएका थिए ।
कोरिया जान सबै चरण पुरा गरी उडानका लागि पर्खाइमा रहेका नेपाली कामदारहरूलाई छिटो, सरल र सहज ढङ्गबाट दक्षिण कोरिया पठाउन सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो ।
मन्त्री भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका सबै नेपालीलाई पठाउन र आगामी दिनमा कामदारको माग सख्या बढाउनका लागि पहल गर्नुपर्ने बताए । कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोष्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिहरूलाई समेत लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने बताए । सो कार्यका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।
भेटका क्रममा राजदूतले नेपाली कामदारहरूको उच्च कदर गर्दै नेपालबाट निरन्तर रूपमा कामदार लैजाने, रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता जनाएका थिए । थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेको समेत बताएका थिए ।
नेपाली कामदारका लागि दक्षिण कोरिया उत्कृष्ट गन्तव्य रहेको र आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने समेत सम्भावना भएको हुँदा दुवै पक्ष सीप विकास कार्यमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण