बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शुभमन गिललाई उप–कप्तान बनाएपछि पूर्वक्रिकेटर आक्रोशित

सोमबार, ०७ माघ २०८१, ०९ : ५२
सोमबार, ०७ माघ २०८१

काठमाडौँ । आगामी आईसीसी च्याम्पियन्स ट्रफीका लागि घोषित भारतीय टोलीमा शुभमन गिललाई उप–कप्तानको जिम्मेवारी दिइएपछि केही पूर्वखेलाडीले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको कप्तानीमा टोलीको घोषणा गरेको थियो । टोलीमा शुभमन गिललाई उप–कप्तानको जिम्मेवारी दिइएको छ ।

युवा ब्याट्सम्यान शुभमनलाई उप–कप्तान बनाइएपछि पूर्वखेलाडी कृष्णमाचारी श्रीकान्तले आपत्ति जनाएका हुन् । श्रीकान्त आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । 

श्रीकान्त भारतलाई सन् १९८३ मा एकदिवसीय विश्वकपको उपाधि चुमाउने टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनले शुभमनलाई उप–कप्तान बनाइएपछि चयन समितिमाथि प्रश्न पनि उठाएका छन् । 

‘पछिल्लो एक वर्षयता शुभमनको प्रदर्शन सन्तोषजनक छैन । उनले टोलीका लागि खासै योगदान पनि गरेका छैनन् । अनि, अचानक उनलाई उप–कप्तान किन बनाइयो ?’ श्रीकान्तले प्रश्न गरेका छन् । 

श्रीकान्तले शुभमनलाई उप–कप्तान बनाउँदा आफू आश्चर्यमा परेको टिप्पणी पनि गरेका छन् । उनले टोलीमा क्षमतावान् थुप्रै खेलाडी रहेको पनि उल्लेख गरेका छन् । 

‘पछिल्लो १० एकदिवसीयमा उनको प्रदर्शन निराशाजनक छ । टोलीमा उनीभन्दा पनि क्षमतावान् खेलाडी छन् । यस्तो स्थितिमा पनि शुभमन नै किन ?’ श्रीकान्तले प्रश्न गरेका छन् । 

रमाइलो पक्ष के हो भने, श्रीकान्तले यसअघि पनि शुभमनको आलोचना गर्दै आएका छन् । बोर्डर–गावस्कर शृङ्खलाका क्रममा पनि श्रीकान्तले शुभमनलाई आवश्यकताभन्दा बढी महत्त्व दिइएको टिप्पणी गरेका थिए । 

‘शुभमनलाई आवश्यकताभन्दा बढी महत्त्व दिइएको छ । अर्कोतिर, टेस्टमा सूर्यकुमारजस्ता खेलाडीलाई कम अवसर दिइन्छ । मेरो विचारमा सूर्यकुमार क्षमतावान् खेलाडी हुन्,’ श्रीकान्तले भनेका छन् ।

च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा विकेटकिपर ब्याट्सम्यान सन्जु सामसनलाई समावेश नगरिएकोमा पनि उनले दुःख व्यक्त गरेका छन् । 

‘सन्जु सामसनले पछिल्लो समय एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गरेका छन् । तर, टोलीमा उनलाई स्थान दिइएको छैन । आखिर यस्तो किन हुन्छ ?’ उनले प्रश्न गरेका छन् । 

च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ ।

च्याम्पियन्स ट्रफीका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल (उप–कप्तान), विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, ऋषभ पन्त, हार्दिक पाण्ड्या, यशस्वी जैसवाल, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सामी, अर्शदीप सिंह र वाशिङ्टन सुन्दर रहेका छन् ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप