यसरी पर्न गयो ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश !
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले हस्ताक्षर गरेको एउटा सरकारी दस्ताबेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । राजतन्त्रको अन्त्य भएर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको पनि लामै समय बितिसकेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने उद्देश्यले नेपालको नयाँ संविधान जारी भएको पनि एक दशक पुग्न लागिसकेको छ । तर, वर्तमान युवा तथा खेलकुद मन्त्री चौधरीद्वारा हस्ताक्षरित उक्त सरकारी दस्ताबेजमा भने अहिले पनि ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्यांश प्रयोग गरिएको छ ।
यही वाक्यांशका कारण मन्त्री चौधरीद्वारा हस्ताक्षरित उक्त दस्ताबेज सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको हो । कतिपयले त सामाजिक सञ्जालमा भाइरल बनाइएको उक्त दस्ताबेज नक्कली भएको दाबी पनि गरिरहेका छन् ।
आखिर वास्तविकता के हो त ? खासमा त्यो दस्ताबेज युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटको कर्मचारी सेवा नियमावली २०५२ को एउटा अंश हो । वास्तवमै उक्त नियमावलीमा ‘श्री ५ को सरकार’ भन्ने शब्द परेको पनि छ ।
युवा तथा खेलकुद मन्त्री चौधरीको निजी सचिव जगदीश पराजुलीका अनुसार, उक्त नियमावलीमा ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्यांश भुलवश पर्न गएको हो । उनका अनुसार, यो शब्द २०६४ सालदेखि नै उक्त नियमावलीमा रहेको थियो ।
‘यो नियमावली २०५२ सालमा जारी भएको थियो । त्यतिबेला देशमा संवैधानिक राजतन्त्र नै थियो । त्यसैले श्री ५ को सरकार भन्ने शब्द राखिएको थियो । त्यसपछि २०५८ सालमा पहिलो संशोधन हुँदा पनि श्री ५ को सरकार भन्ने शब्द नै प्रयोग गर्नु पर्ने हुन्थ्यो,’ पराजुली भन्छन् ।
पराजुलीका अनुसार, २०६४ सालमा नियमावलीको दोस्रो संशोधन भएको थियो । त्यतिबेला नियमावली संशोधन गर्दा ‘श्री ५ को सरकार’ भन्ने वाक्यांश दुइ ठाउँमा रहेछ । २०८१ सालमा ऐनको तेस्रो संशोधन हुनु अघिसम्म त्यो वाक्यांश जस्ताको त्यस्तै रहेछ । तर, तेस्रो संशोधनसम्म पनि यसतर्फ कसैको ध्यान नै गएनछ।
‘२०८१ सालमा आएर नियमावलीको तेस्रो संशोधन भएको हो । यसअघि २०६४ सालमा दोस्रो संशोधन हुँदा श्री ५ को सरकार भन्ने शब्द हटाउनु पर्ने थियो । तर, त्यतिबेला भुलवश नियमावलीको दुई ठाउँमा श्री ५ को सरकार भन्ने शब्द छुट्न गएछ । यसतर्फ कसैको ध्यान नै गएन । अहिले तेस्रो पटक संशोधन हुँदा पनि असावधानीवश त्यो शब्द जस्ताको त्यस्तै रहन गयो,’ पराजुलीले रातोपाटीसँग भने ।
नियमावलीको तेस्रो संशोधनको मस्यौदा नेपाल स्काउट परिषद्ले नै तयार पारेर मन्त्रालयमा पठाएको हो । ‘तेस्रो संशोधनको मस्यौदा नेपाल स्काउट परिषद्ले नै तयार पारेको हो । विश्वास गरेर मन्त्री ज्यूले त्यही मस्यौदामा हस्ताक्षर गर्दा भुलवश यस्तो हुन गएको हो । अब यो त्रुटिलाई सच्याउने प्रक्रिया अगाडि बढाइने छ,’ पराजुलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण