‘सरकार अध्यादेश स्वीकार भएको घोषणा गराउन अनेक षडयन्त्र गर्दैछ’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी दिनमा संसद्मा सत्ता पक्ष र प्रतिपक्षबिच चर्को विवाद हुने बताएका छन् ।
फागुन ६ गते बसेको स्थायी कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारले पेस गरेका ६ वटै अध्यादेशका विरुद्ध आफ्नो पार्टीले संसदीय इतिहासमै पहिलो पटक अस्वीकारको सूचना दर्ता गराएको पनि बताएका हुन् । अध्यक्ष नेपालको उक्त प्रतिवेदन पोलिटब्युरो बैठकबाट समेत पारित गरेर फागुन ८ र ९ गते बस्ने पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा पेस हुँदैछ ।
‘संसद्मा सत्तापक्ष र प्रतिपक्षका बिचमा चर्को विवाद हुने देखिएको छ । सरकार अध्यादेश स्वीकार भएको घोषणा गराउन अनेक षडयन्त्र गर्दैछ’, अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनको ‘वर्तमान राजनीतिक अवस्था’ उपशीर्षक खण्डमा लेखिएको छ ।
नेता नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टीगत गतिविधिबारे पनि टिप्पणी गरेका छन् । ‘पार्टीगत गतिविधिको हिसाबले हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सबैजसो पार्टीहरू आ–आफ्ना संगठन सुदृढीकरण अभियानमा लागेका छन् । हाम्रो पार्टीका गतिविधि पनि क्रमशः अघि बढ्दैछन्’, नेपालले भनेका छन् ।
अध्यक्ष नेपालले मुलुकको आर्थिक सामाजिक अवस्थामा उल्लेख्य प्रगति नभएको तथा ओरालो यात्रामै रहकाले क्रमशः धराशायी बन्दै गएको टिप्पणी गरेका छन् । दलाल नोकरशाही पुँजीपति र बिचौलियाहरू सत्तामा हाबी हुँदै गएको नेता नेपालको ठहर छ ।
‘दलाल नोकरशाही पुँजीपति र बिचौलियाहरूले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनाउने प्रक्रियामा मात्र होइन सरकारका नीति निर्माणमा समेत प्रभाव पार्न थालेका छन्’, नेपालले भनेका छन्, ‘सरकारले संसद् छलेर ल्याएका अध्यादेशहरूमा उनीहरूकै प्रभाव देखिन्छ ।’
अध्यक्ष नेपालले आगामी २०८२ मंसिरसम्ममा अहिलेको पार्टी सदस्यता संख्या ५० प्रतिशत वृद्धि गर्ने गरी संगठन निर्माण गर्ने भन्दै ८३ मा हुने स्थानीय तहको निर्वाचनमा सबै वडामा चुनाव लड्ने लक्ष्य राखिएको बताएका छन् ।
अध्यक्ष नेपालले पार्टीभित्र अनुशासनहीन र अराजक प्रवृत्ति बढेको प्रतिवेदनमा स्वीकार गर्दै त्यस्तो प्रवृत्तिसँग जुध्नु र नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । ‘पार्टीभित्र अनुशासनहीन र अराजक प्रवृत्ति देखिने गरेको छ’, नेपालले भनेका छन्, ‘पार्टी निर्णयको उपहास गर्दै जथाभाबी बोल्ने, लेख्ने, प्रवृत्ति देखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण