ओलीलाई पुनको प्रश्न : दमकमा भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् । झापामा शनिबार बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्यू टावर’ विकास मोडल अनुत्पादक भएको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी र घरबार विहीनलाई सुरक्षित आवासको ग्यारेन्टी गर्नुपर्नेमा संघीय सरकारदेखि वडातहसम्म विकास भनेकै भ्यू टावर हो भन्ने स्थापित गर्न खोजिएको उनको भनाइ थियो ।
‘लोकतन्त्रमा शिक्षा, स्वास्थ्य र रोजगारी सरकारको प्राथमिकतामा हुनुपर्छ । प्रधानमन्त्री केपी ओलीले भ्यू टावरको अवधारणा ल्याएपछि हरेक वडा, पालिका, प्रदेश सबैतिर विकास भनेकै भ्यू टावर, देशको गौरव भनेकै भ्यू टावरजस्तो भएको छ । ओलीजीले दमकमा ठुलो भ्यू टावर ठड्याउनुभयो’, पुनले भने, ‘प्रधानमन्त्री ओलीले भ्यू टावरलाई विकासको मोडल बनाउनुभयो । मैले यसअघि संसदमा पनि भनेको छु । उहाँको विकासको मोडलमा गम्भीर त्रुटि छ ।’
ओलीको निर्वाचन क्षेत्र झापा–५ मा मात्र ४ देखि ५ हजार हाराहारी सुकुम्वासी रहेको तथ्याङ्क प्रस्तुत गर्दै पुनले पहिला भ्यू टावरभन्दा पहिला ओलीले उनीहरूलाई सुरक्षित बास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्छ भन्ने सोच्न नसकेको टिप्पणी गरे ।
राज्य कोषबाट अर्बौँ खर्च गरेर कसैका नाममा अनावश्यक विकास संरचना बनाउन नहुने भन्दै पुनले यस्तो प्रवृत्ति निरङ्कुश राज्य व्यवस्थामा मात्र हुने गरेको बताए । ‘हिजो निरङ्कुश शासन हुँदा गरिब जनतालाई शोषण गरेर शासकहरूले आफ्ना लागि ठूल्ठूला घर बनाउँथे । जनतालाई ज्याला पनि नदिई खाना दिएको भरमा भीमफेदीबाट काठमाडौँसम्म बोकाएर ल्याएको गाडी चढेर शासकहरू हिँड्थे’, पुनले भने, ‘जनताका लागि केही गर्नुपर्ने । आफू र आफ्नाहरूको मस्तीका लागि गरिब जनता चुस्ने प्रवृत्ति निरङ्कुश शासनमा हुन्छ । लोकतन्त्रमा यस्तो हुनुहुँदैन । विकासका आयोजना बनाउँदा आफ्नो नाम आउने गरी होइन, जनताका प्राथमिकता हेर्नुपर्छ ।’
पछिल्लो समय आफूहरूले सुशासन र सामाजिक न्यायको पक्षमा राम्रो जनमत निर्माण गरेको पुनले बताए ।
लोकतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही नहुने चर्चा गर्दै पुनले कानुनी रूपमा प्रश्न उठेपछि प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष वा जतिसुकै प्रभावशाली व्यक्ति भए पनि छानबिन र अनुसन्धानको दायरामा आउनुपर्ने उल्लेख गरे । ‘प्रचण्ड प्रधानमन्त्री हुँदा १८ महिनामा हामीले प्रभावशाली व्यक्ति र सर्वसाधारण सबैका लागि कानुन बराबर हो । कानुनभन्दा माथि कोही हुँदैन भनेर स्थापित गरेका थियौँ’, पुनले भने ।
पुनले काठमाण्डौं, पोखरा र मोरङका सहकारीको बचत अपचलनमा संलग्नमाथिको अनुसन्धान र अभियोजनमा सत्तापक्षका मानिस र अरूलाई फरक व्यवहार भएको टिप्पणी गरे । मानव तस्करसँगको साँठगाँठमा जापान गएका कोशी प्रदेशका मन्त्री लीलाबल्लब अधिकारीलाई उन्मुक्ति र पैसा बुझाए उनीसँग गएका युवाहरूमाथि कारबाही हुनुले सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ थियो ।
‘काठमाडौँ, पोखरा र मोरङको सहकारी ठगी प्रकरणमा फरक व्यवहार भयो । युवालाई जापान लिएर जाने कोशीका मन्त्रीले उन्मुक्ति पाउने र सँगै गएका युवाहरू जेल जाने अवस्था बन्यो’, उनले भने । सरकारमा बस्नेहरूका यस्तै व्यवहारले जनतामा असन्तुष्टि चुलिएको भन्दै उनले लोकतन्त्रको विकल्प भने निरंशुकतन्त्र हुन नसक्ने स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण