बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कोशी प्रदेशसभा

कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय

भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकै बेलामा नियुक्तिको सिफारिस गर्नेहरूको नैतिकतामाथि प्रश्न
सोमबार, १२ फागुन २०८१, १६ : ५९
सोमबार, १२ फागुन २०८१

विराटनगर । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका कोशी प्रदेशसभाका तत्कालीन सचिव गोपालप्रसाद पराजुलीको नियुक्ति प्रक्रिया नै कानुन विपरीत भएको खुलेको छ । 

सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई गत माघ ३० गते सर्वोच्चले पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

पराजुली विरुद्ध २०७१ माघमा विशेष अदालतमा उक्त मुद्दा अभियोजन गरेको थियो । प्रदेशसभा सचिवमा नियुक्त हुँदा नै पराजुलीको उक्त मुद्दा अदालतमा विचाराधीन रहेको देखिन्छ । 

सोही अवधिमा उनलाई तत्कालीन १ नम्बर प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीको सिफारिसमा शेरधन राई नेतृत्वको प्रदेश सरकारले २०७६ वैशाख १२ गते प्रदेशसभा सचिवमा नियुक्त गरेको थियो । 

 दोस्रो पटक पुनः २०८१ वैशाख ९ गतेदेखि उनलाई नियुक्त गरियो । दोस्रो पटक भने पुनः सभामुख अम्बरबहादुर विष्टको सिफारिस र हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नियुक्त गरेको हो ।

प्रदेशसभा सचिवालय ऐन २०७६ को दफा १० मा प्रदेशसभा सचिवको योग्यता सम्बन्धी व्यवस्था छ । दफा १० को उपदफा (ङ) मा उच्च नैतिक चरित्र भएको  व्यवस्था छ । उपदफा (च) मा भ्रष्टाचार, कर्तव्य ज्यान, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण लगायत फौजदारी कसुर र कुनै पनि नैतिक पतन नदेखिने फौजदारी अभियोगमा अदालतमा कारबाही नचलेको वा अदालतबाट सजाय नपाएको भन्ने व्यवस्था छ । 

Gombu Sherpa

सोही विषयमा सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले नियुक्ति प्रक्रियाबारे नै प्रश्न उठाएका हुन् । 

‘कानुन अनुसार उच्च नैतिक चरित्र भनेको के हो ? मुद्दाको कारबाही चलिरहेकै बेला सचिवमा नियुक्त भएको देखिन्छ । त्यसो हुँदा सिफारिस कर्ताले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?,’ शेर्पाले भने ।

पराजुलीले अहिलेसम्म राजीनामा पनि नगरेको र सभामुखले पदमुक्त नगरेको भन्दै शेर्पाले अहिले प्रदेशसभा सचिवालयमा पराजुलीको हैसियत के हो भनेर प्रश्न गरे । 

‘दफा १२ मा प्रदेशसभा सचिवको पद रिक्त हुने व्यवस्था छ । तर, भ्रष्टाचारजन्य कसुरमा दोषी ठहरेमा के गर्ने भन्ने व्यवस्था छैन । उहाँले राजीनामा पनि दिनुभएको छैन । सभामुखले पदमुक्त पनि गर्नुभएको छैन भनेपछि उहाँको अहिलेको अवस्था के हो ?,’ शेर्पाले भने, ‘अहिलेको उहाँको अवस्था के हो ? उहाँलाई भ्रष्टाचारजन्य मुद्दामा दोषी ठहरेमा जो कोही पदमुक्त हुनुपर्ने हो । त्यही अनुसार व्यवस्था गर्न र आगामी दिनमा भ्रष्टाचारजन्य मुद्दामा अदालतमा विचाराधीन रहेकाहरूलाई कुनै पनि पदमा नियुक्तिको सिफारिस नगर्न सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु ।’

के थियो पराजुलीको मुद्दा ? 

काठमाडौँको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रहेको बेला भ्रष्टाचार गरेको अभियोग पराजुलीमाथि थियो । मुद्दामा विशेष अदालबाट सफाइ पाएकोमा सर्वोच्चले उल्ट्याएको हो ।

उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । सो प्रकरणमा नेकपा एमालेका नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले दोषी ठहर गरेको हो ।

विशेष अदालतबाट उनीहरूले सफाइ पाएकोमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेकोमा सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै आरोपी सबैलाई दोषी ठहर गरेको हो ।

पराजुली विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव बनेका थिए । पराजुलीसहित विरुद्ध अख्तियारले २०७१ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०७३ भदौ ६ गते विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले दुई जना ठेकेदारबाहेक पराजुलीसहित ७ जनालाई सफाइ दिएको थियो । 

उक्त फैसला बदर गरी सबैलाई सजाय गर्न माग गर्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप