‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खाद्यान्नमा रहेको परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा सांसद राजेन्द्र बजगाइँले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले यस्तोमा जोड दिएका हुन् ।
बजगाइँले ‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको’ भन्दै सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद डा अमरेशकुमार सिंहले तराई क्षेत्रमा नील गाईले पनि बाली नष्ट गर्नुका साथै मानवीय क्षतिसमेत गरिरहेको भन्दै ध्यानाकर्षण गराए ।
सांसद बिराजभक्त श्रेष्ठले बाँदर, बँदेलको आहारा नभएर बस्तीमा पस्ने र बाली क्षति गर्ने गरेको बताउँदै मान्छेलाई केन्द्रमा राखेर समस्या समाधान गरिनुपर्ने बताए । उनले ११ जना पशु चिकित्सकले भारतमा बाँदर, बँदेल व्यवस्थापनसम्बन्धी तालिम लिएर आएको विषयमा पनि धारणा राखे ।
सांसद गणेशप्रसाद पराजुलीले वन र कृषि दुवै मन्त्रालयसँग यो प्रस्ताव सम्बन्धित रहेकाले समस्या समाधान गर्न विज्ञसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सांसद कुसुमदेवी थापाले वन्यजन्तुका कारण कृषिमा समस्या भइरहेकाले बाँदर, बँदेलजस्ता जन्तुलाई बन्ध्याकरण गर्न कृषि समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको सुनाए ।
सांसद सीता मिजारले प्रस्तावमा समर्थन गर्दै बाँदर र बँदेलका कारण मानिसले कष्टपूर्ण जीवन बिताएको, धार्मिक स्थलमा क्षति गरेको, पर्यटकलाई दुःख दिएकाले कानुन बनाएर सङ्ख्या घटाउनुपर्ने बताइन् । वन जङ्गलमै फलफूल रोपेर वन्यजन्तु बस्तीमा आउनै नपर्ने वातावरण बनाउन सकिने उनको भनाइ थियो ।
सांसद राजेन्द्रकुमार केसीले ग्रामीण भेगमा बाँदर र बँदेलकै कारण मानिस थातथलो छोड्ने अवस्था आएको भन्दै यी जीवलाई उपयोग गर्ने नीति पनि आवश्यक रहेको बताए । लेलेमा रहेको बाँदर अनुसन्धान केन्द्रले एउटा बाँदर रु २५ हजारमा किन्ने गरेको उनले सुनाए । खाद्यान्नमा परनिर्भरता घटाउन पनि बाँदर र बँदेलको नियन्त्रण आवश्यक रहेको सांसद केसीको भनाइ थियो ।
सांसद रामहरि खतिवडाले विसं २०७० मा संसद्मा तत्कालीन सांसद कमल पँगेनीले कुरा उठाउँदा बाँदरका कुरा पनि गर्ने भनिएको स्मरण गर्दै हाल बाँदरकै कारण धेरैले बसाइसराइ गर्नु परेको सुनाए ।
सांसद मनिष झाले सर्प र कुकुरको टोकाइबाट विश्वमै धेरै मानिस पीडित हुने गरेको सुनाउँदै तेस्रोमा बाँदरको टोकाइबाट समस्या हुने गरेको बताए । सहरी मन्दिर क्षेत्रमा मानिसले बाँदरलाई खाना खान दिँदा पछि घरतिर आउने गरेको उनको भनाइ थियो । सहर र गाउँमा बाँदर नियन्त्रणको रणनीति फरक रहेकाले त्यसैअनुसार समाधानका उपाय खोजिनुपर्ने झाले बताए ।
सांसद रामकृष्ण यादवले वन, जङ्गल मासिन थालेकाले बाँदर र बँदेल बस्तीमा छिरेको बताउँदै नीलगाईको समस्या पनि यसै प्रस्तावसँग राखेर समाधान गरिनुपर्नेमा जोड दिए । धनुषा, सर्लाहीलगायतका जिल्लामा नीलगाईको समस्या धेरै रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण