आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण जारी छ । प्रतियोगिताको मुख्य आयोजक पाकिस्तान समूहगत चरणबाटै बाहिरिने निश्चित भइसकेको छ । लगातार दुई खेलमा पराजित भएसँगै पाकिस्तान उपाधि होडबाट बाहिरिएको हो ।
प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएपछि अहिले पाकिस्तानी टोलीको प्रदर्शनलाई लिएर व्यापक आलोचना पनि भइरहेको छ । तर, च्याम्पियन्स ट्रफीको इतिहासमा समूहगत चरणबाटै बाहिरिने पाकिस्तान पहिलो आयोजक भने होइन् ।
यसअघि टेस्ट मान्यता पाएका अन्य दुई आयोजक राष्ट्र पनि च्याम्पियन्स ट्रफीको पहिलो चरणबाटै बाहिरिएको इतिहास छ । च्याम्पियन्स ट्रफीको समूहगत चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र भारत हो । भारतले सन् २००६ को च्याम्पियन्स ट्रफी आयोजना गरेको थियो ।
त्यतिबेला भारतीय टोली प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको थियो । भारतीय टोली समूह ‘ए’ मा परेको थियो । उक्त समूहमा अस्ट्रेलिया, वेस्ट इन्डिज र इङ्ल्यान्ड पनि थिए । भारतीय टोलीले आफ्नो पहिलो खेलमा इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो ।
त्यसपछि भारत आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजसँग तीन विकेटले र तेस्रो खेलमा अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो । यसरी आयोजक राष्ट्र भारत अंक तालिकामा तेस्रो हुँदै समूहगत चरणबाटै बाहिरिएको थियो ।
यसैगरी, आयोजक राष्ट्र भएर पनि समूहगत चरणबाटै बाहिरिने दोस्रो राष्ट्र दक्षिण अफ्रिका हो । सन् २००९ को च्याम्पियन्स ट्रफी दक्षिण अफ्रिकामा आयोजना भएको थियो । त्यतिबेला दक्षिण अफ्रिका प्रतियोगिताको समूह ‘बी’ मा परेको थियो ।
दक्षिण अफ्रिकी टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ५५ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने दक्षिण अफ्रिकी टोलीले न्युजिल्यान्डलाई पाँच विकेटले हराएको थियो ।
तर, आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकी टोली इङ्ल्यान्डसँग २२ रनले पराजित भएको थियो । यसरी अंक तालिकाको चौथो स्थानमा रहँदै आयोजक राष्ट्र दक्षिण अफ्रिका प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको थियो ।
त्यसअघि, केन्या पनि च्याम्पियन्स ट्रफीको पहिलो चरणबाटै बाहिरिएको थियो । च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण सन् २००० मा केन्यामा आयोजना भएको थियो । उक्त संस्करणमा केन्या पहिलो चरणबाटै बाहिरिएको थियो ।
तर, त्यतिबेला प्रतियोगिताको नाम र संरचना नै बेग्लै थियो । त्यतिबेला प्रतियोगिताको नाम आईसीसी नकआउट ट्रफी थियो र प्रतियोगिता नकआउट ढाँचामा खेलाइएको थियो । एक खेल हार्नासाथ टोलीहरु उपाधि होडबाट बाहिरिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?