दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापानसँग मन्त्री अधिकारीको आग्रह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गरिदिन जापानसँग आग्रह गरेका छन् ।
नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदूत समक्ष आग्रह गरेका हुन् ।
मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्दै आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताए ।
नेपालले कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गरेका छन् ।
भेटवार्तामा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सहयोगका थप सम्भावनाहरूको अध्ययन गर्ने प्रतिवद्दता जनाएका छन् ।
नेपालमा हुने चिया र हर्बल उत्पादनहरूको जापान राम्रो बजार हुनसक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुले उल्लेख गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण