सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय सम्झौतामा नपरेपछि क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा

दुई खेलाडीसँग ‘हाइब्रिड सम्झौता’
मङ्गलबार, २६ चैत २०८१, १२ : ४५
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । प्रभावशाली ब्याट्सम्यान हेनरिक क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा परेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण खेल्न हाल भारतमा रहेका ३३ वर्षीय क्लासेन दक्षिण अफ्रिका क्रिकेट बोर्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्र्याक्ट) मा पर्न असफल भएका हुन् ।

दक्षिण अफ्रिका क्रिकेट बोर्डले सार्वजनिक गरेको केन्द्रीय सम्झौतामा क्लासेनलाई समेटिएको छैन । बोर्डले केन्द्रीय सम्झौतामा समेटिएका १८ जना खेलाडीको सूचि सार्वजनिक गरेको हो । यो केन्द्रीय सम्झौता जुन १ तारिखदेखि सन् २०२६ को मे ३१ तारिखसम्म लागू हुनेछ । 

सन् २०२४ को जनवरीमा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका क्लासेन हाल सीमित ओभरको प्रतियोगिता मात्र खेल्छन् । त्यसैले उनीसँग बोर्डले अघिल्लो सिजन सीमित ओभरको प्रतियोगिताका लागि मात्र केन्द्रीय सम्झौता गरेको थियो । 

पछिल्लो समय क्लासेन टी–२० प्रतियोगितामा बढी केन्द्रित देखिन्छन् । ‘हेनरिक क्लासेनको भविष्यको बारेमा पनि हामी छलफल गरिरहेका छौँ । उचित समयमा निर्णय लिनेछौँ,’ दक्षिण अफ्रिकी क्रिकेट बोर्डले भनेको छ । 

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले ‘हाइब्रिड कन्ट्र्याक्ट’ पनि लागू गरेको छ । यो सम्झौतामा पर्ने खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजना गरिने केही निश्चित प्रतियोगिता मात्र खेल्छन् । यसपटक बोर्डले डेभिड मिलर र रासी भान डेर डुसेनलाई ‘हाइब्रिड कन्ट्र्याक्ट’ मा समेटेको छ । 

तिब्रगतिका बलर लिजाद विलियम्स र अलराउन्डर सेनुरन मुथुसामी पहिलो पटक केन्द्रीय सम्झौतामा परेका छन् । तिब्रगतिका बलर क्वेना मफाकालाई पनि केन्द्रीय सम्झौतामा समेटिएको छ । उनले अघिल्लो सिजनमात्र अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

केन्द्रीय सम्झौतामा स्थान पाउने खेलाडी तेम्बा बाभुमा, डेभिड बेडिङ्घम, नान्द्रे बर्गर, जेराल्ड कोएट्जी, टोनी डी जर्जी, रिजा एन्ड्रिक्स, मार्को यानसन, केशव महाराज, क्वेना मफाका, एडेन मारक्रम, वियान मुल्डर, सेनुरन मुथुसामी, लुङ्गी एनगिडी, कागिसो राबडा, रायन रिकल्टन, ट्रिस्टन स्टब्स, काइल वेरिन र लिजाद विलियम्स हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप