‘यही व्यवस्था र अवस्थामा भ्रष्टाचारको जालोले देश सकाउँछ’
काठमाडौँ । देशमा भ्रष्टाचारको मूल कारण नै संसदीय व्यवस्था रहेको र त्यसको निवारण गर्न जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनु पर्ने वक्ताहरूले जोड दिए । शुक्रबार राजधानीमा नेकपा (बहुमत) काठमाडौँ जिल्लाले ‘भ्रष्टाचार: करण र निवारण’को लागि आयोजना गरेको अन्तरक्रियामा राज्यका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन र कारबाही नगरी भ्रष्टाचार नरोकिनेसमेत बताएका हुन् ।
कार्यक्रममा नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्था फालेर कार्यकारी प्रमुखको व्यवस्था नल्याएसम्म भ्रष्टाचार मौलाउने बताए । वर्तमान व्यवस्थामा २ प्रतिशत जनताको भोट ल्याउने व्यक्तिले जनतामाथि शासन गरिरहेको बताउँदै बास्तोलाले भने, “भ्रष्टाचार अन्त्य गर्न ५१ प्रतिशत मतबाट जननिर्वाचित प्रमुख नभए देश कंगाल भएर असफल हुने दिशामा छ ।”
नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले वर्तमान समाजलाई भ्रष्टाचार मुक्त बनाउन कम्युनिस्टहरूले पुरातनवादी सोच र व्यवहारमा परिवर्तन ल्याउनु पर्ने धारणा राखिन् । झाँक्रीले भ्रष्टाचारलाई नियन्त्रण तथा न्यूनीकरणका लागि कडा कानुन बनाएर लागु गर्न जनदबाब दिनुपर्नेमा जोड दिइन् । झाँक्रीले पछिल्लो समयमा राजावादीहरूले समय चक्रलाई उल्टोतिर हिँडाउन खोजेकोले त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखिन् ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले भ्रष्टाचारको मूलकारण वर्तमान व्यवस्थाले संरक्षण गरेको ‘दलाल पुँजीवादी’ व्यवस्था भएकोले त्यसको अन्त्य गर्नेतिर लाग्नुपर्ने धारणा राखे ।
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले आयोजकको कार्यपत्रमाथि टिप्पणी गर्दै अहिलेकै व्यवस्था र अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नभएको धारणा राखे । बिडारीले भ्रष्टाचार अन्त्यका निम्ति व्यापक जनदबाब दिन जरुरी रहेको बताए । त्यसका निम्ति बिडारीले भने,“चुनावमा न्याय जनताले गर्ने, राजनीतिमा सेवा प्रतिनिधिले गर्ने, नगर्ने प्रतिनिधि जनताले बदल्ने र दल छाडेर पद, पद छाडेर दल अर्थात् दल र पदमध्ये एकमा मात्रै बस्दा भ्रष्टाचार नियन्त्रण हुन्छ ।”
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका नेता जागृत रायमाझीले नेपालमा भ्रष्टाचार राणा र राजाकालीन समयबाटै सुरुवात भएको र त्यहीँदेखिको जरो उखेल्नुपर्ने धारणा राखे । राजाहरूले विदेशी बैंकमा सम्पत्ति राख्ने, घर–जग्गा शक्ति र सत्ताको बलमा व्यापक निजीकरण गर्ने अवस्थाले भ्रष्टाचार सुरु भएको रायमाझीको जिकिर छ । भ्रष्टाचारको अन्त्य गर्न वैज्ञानिक समाजवादी व्यवस्था एक मात्रै विकल्प रहेको रायमाझीको धारणा छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रतिनिधि विनोद भट्टराईले राज्यका हरेक आयव्ययमा पारदर्शिता हुनुपर्ने धारणा राखे ।
पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दीपक’ लगायतको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता काठमाडौँ सेक्रेटरी दर्शन कुमार नेपाली र कार्यपत्र वाचन इन्चार्ज सागर लिम्बुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण