शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । तर, त्यसका लागि समय भने अहिलेसम्म यकिन भइसकेको छैन । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि छलफल हुनेछ ।
शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो । आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।
‘आज पनि छलफलमा बस्ने भनेर हिजो सकिएको थियो । आज कति बेला बस्ने भन्ने समय हामीले दिने हो । अब छलफल गरेर समय भन्छौँ,’ रावलले भने । हिजोको पहिलो छलफलमा दुवै पक्षले आ–आफ्ना कुराहरू राखेका थिए । त्यसक्रममा शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए ।
उनीहरूले नयाँ ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र के हो ? भन्ने विषयमा सरकारको प्रष्टता खोजेका थिए । त्यस्तै विगतमा सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन किन ढिला गरेको ? त्यसको समेत ठोस जवाफ माग गरेका थिए ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका छन् । हिजोबाट शिक्षा मन्त्रालय र आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलबिच ऐन विषयमा गरिने वार्ताको आधार तयार गर्न छलफल भएको थियो । त्यही छलफलको आज पनि निरन्तरता हुने महासचिव रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण