लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले आगामी दिनमा नयाँ कार्यक्रमलाई अगाडि बढाउने गरी काम गर्नुपर्ने बताए ।
मन्त्री खड्काले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विपन्न वर्गका नागरिकको घरमा सौर्य ऊर्जा जडान गरेर डबल मिटरिङ गर्नसके उनीहरुको जीवनस्तरमा सुधार आउने भएकाले त्यसतर्फ सोच्नुपर्ने बताए । उनले सरकारले सन् २०३५ सम्म राखेको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रसारण लाइन निर्माणको गतिलाई तीव्रता दिनुपर्ने भन्दै निजी क्षेत्रलाई समेटेर प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई भार परेको भन्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न कम्पनी खडा गरे पनि उक्त कम्पनीले सोचेजस्तो काम गर्न नसकेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणलाई १० वर्षदेखि बाँकी रहेको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउनका साथै प्राधिकरणको हालको अवस्थाबारे श्वेतपत्र जारी गर्न निर्देशनसमेत दिए । उनले बजेट माग्ने तर खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
‘आयोजना अध्ययन निजी क्षेत्रले चाँडो सके पनि सरकारी संयन्त्रमा भइरहेको ढिलाईले हामीलाई चिन्तित बनाएको छ, हिजो मागेको बजेटको प्रतिफल देखिएन भने आगामीका लागि कसरी माग गर्ने’, उनले प्रश्न गरे । वर्षे बजेटको बहानामा बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।
मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले बजेटको सुनिश्चितता हुँदाहुँदै पनि राष्ट्रिय गौरवका आयोजनामा प्रगति हुन नसकेको बताए । उनले ऊर्जा विकासका क्षेत्रमा सरकारले गरेका प्रतिबद्धता पूरा हुन नसकेको भन्दै त्रिशूली थ्री वी आयोजना, मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताए । आगामी आवदेखि आयोजनाका बारेमा नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तेस्रो चौमासिकसम्म आइपुग्दा काम सन्तोषजनक नभएको बताए । गत आवको तुलनामा यस समयसम्म बजेट कम खर्च हुनु दुःखद् भएको उनको भनाइ थियो । उनले प्राप्त सिलिङभित्र बसेर आगामी आवको बजेट बनाउनुपर्ने बताए ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले आयोजनाको प्राथमिकतालाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए । उनले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गरे । छलफलमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरुले नौ महिनामा भएको भौतिक तथा वित्तिय प्रगतीका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण