हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
हेटौँडा । बिहीबार बिहानबाट हेटौँडा उपमहानगरपालिकाको तोकादेश भएको एउटा पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हेटौँडा–४ शितलमहल चोकस्थित एक सैलुनलाई एयर कण्डिशनर (एसी) र इन्भर्टर अनुदान दिने मेयरको तोकादेश सहितको उक्त पत्र भाइरल भएको हो ।
उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले केही समय अघि उद्घाटन गरेको सो सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन् । सोही अनुसार सुशन घलान सञ्चालक रहेको उक्त ‘द नाइनटिन सैलुन’ ले उपमहानगरपालिकालाई वैशाख ३ मा लिखित निवेदन पेस गर्छन् ।
सैलुनका सञ्चालक घलानले निवेदनमा उल्लेख गरेअनुसार ‘सैलुन उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको सैलुनमा गर्मी धेरै छ, म एसी जडानका लागि सहयोग गर्छु भन्ने कुरा सम्झेर यो औपचारिक निवेदन लिएर उपस्थित भएको छु । हाल गर्मीयाम अत्यधिक बढेकाले र हाम्रो सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन अत्यावश्यक रूपमा एक थान एसीको आवश्यकता परेको छ । साथै हालसालै हेटौँडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउँछ। ग्राहकको सेवा गुणस्तरीय बनाउन इन्भर्टरको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण भएको छ । अतः हाम्रो सैलुनमा एसी तथा इन्भर्टर जडानको लागि तपाईंको सहयोग र समर्थनको अपेक्षा गर्दै यो निवेदन पेस गरेका छौँ । तपाईंको सहयोगले हामीलाई हाम्रो युवा प्रयासलाई अझ सफल र प्रेरणादायी बनाउनेछ ।’
सो निवेदनमा सञ्चालकले माग गरे अनुसारको सामग्री दिन मेयर लामाले तत्काल रातो कलमले आर्थिक प्रशासन शाखालाई तोक लगाएर आदेश गर्छिन् । मेयर लामाको तोक आदेश सहितको सो निवेदन आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना समक्ष पेस गर्छन् ।
महाशाखा प्रमुख तिमल्सिनाले पनि तोकसहित उपमहानगरपालिकाका मर्मत सम्भार इकाईमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोत्तमकुमार अधिकारीलाई आदेश गर्छन् । महाशाखा प्रमुख तिमल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनेर वैशाख ३ गते नै आदेश गर्छन् । सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो ।
यसरी बाहिरियो पत्र, मेयर लामाको आलोचना
सो अवस्थासम्मको प्रक्रिया पुरा गरेको पत्र एकाएक वैशाख ४ गते बिहीबार बिहानबाट सामाजिक सञ्जालमा बाहिरिन्छ । बिहानैबाट हेटौँडा उपमहानगरपालिका र मेयर लामाको आलोचना सहित सो पत्र सामाजिक सञ्चालनमा भाइरल भएको छ ।
उपमहानगरपालिकाको कर्मचारी समक्ष पेस भएको पत्र बाहिर ल्याउने पात्र सैलुनका सञ्चालक घलान स्वयम् नै हुन् । उनले सैलुनको टिकटक आइडीबाट उक्त पत्र सार्वजनिक गर्छन् । मेयर लामाले केही समय अघि सोही सैलुनको उद्घाटन गर्दै, कपाल काट्ने, फेसियल गर्ने, नेल आर्ट गर्ने लगायतका सेवा समेत लिएकी थिइन् । सो समयमा मेयर लामाले केही भिडियो र केही फोटोहरू समेत खिचाएकी थिइन् ।
व्यवसायी त्यसमाथि पनि युवाहरूलाई प्रोत्साहन गर्न मेयर लामाको उद्देश्य अनुसार बनाइएका भिडियो र फोटो सहित सैलुन सञ्चालकले तोक आदेश भएको उक्त पत्र समेटेर टिकटक भिडियो बनाउँछन् । सोही भिडियोबाट स्क्रिन सर्ट गरेर निकालिएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
उक्त विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले आफूले पत्र नरहेको र अनौपचारिक रूपमा केही जानकारी लिएको बताए । उनले नयाँ ढङ्गको व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्ने प्रयासमा रहेका युवाहरूलाई प्रोत्साहन गर्ने उपमहानगरपालिकाको कार्यक्रम अन्तर्गत सो विषय अघि बढाइएको उनले बताए । व्यवसाय प्रवर्द्धनको उद्देश्यअनुसार अघि बढाएको सो पत्रको विषयमा आर्थिक प्रशासन महाशाखा प्रमुख तिमल्सिनासँग बुझ्न उनले आग्रह गरे ।
सो विषयमा जानकारी लिन आर्थिक प्रशासन महाशाखा प्रमुख तिमल्सिनालाई फोन सम्पर्क गर्दा उक्त विषयमा आफू नबोल्ने भन्दै पन्छिए । उपमहानगरपालिकामा प्रवक्ता र सूचना अधिकारीको व्यवस्था रहेकाले उतैबाट जानकारी लिनुपर्ने उनले बताए । सूचना दिने विषयमा सबैले मिडियामा बोल्दै हिँड्न उचित नहुने उनको भनाई छ । सो विषयमा बुझ्न उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियासँग सम्पर्क गर्दा उनको फोन उठेन ।
व्यवसायी प्रोत्साहनको नीतिअनुसार सहयोग गरिएको हो : प्रवक्ता न्यौपाने
सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने विषय व्यवसायी प्रवर्द्धनको नीति अनुरूप भएको हेटौँडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले बताए । मेयरलाई उपमहानगरपालिकालाई व्यवसाय प्रवर्द्धनको लागि सहयोग गर्ने अधिकार रहेकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको उनले बताए ।
माग अनुसारको सामग्री दिएर व्यवसाय प्रवर्द्धनका लागि सहयोग दिने आर्थिक प्रशासन हुँदै लागत मूल्याङ्कनको प्रक्रियामा पठाइएको उनको भनाइ छ । अधिकार क्षेत्र भित्रै रहेर मागमा आधारित सो सामग्री दिने तयारी भएको उनले बताए । विलासिता सामग्री माग भएकाले आलोचना भएको उनले बताए ।
उक्त विषय प्रक्रियामा रहेका बखत पत्र बाहिरिएपछि दिने नदिने टुङ्गिन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए । व्यवसाय प्रवर्द्धनको नीति, कार्यविधि के छ भन्ने प्रश्नमा प्रवक्ता न्यौपानेले भने– ‘मेयरलाई आर्थिक सहयोगको अधिकार २५ हजार रुपैयाँ रहेको र जिन्सी सहयोगको विषय आर्थिकले खरिद आदेशले निर्धारण गरेर अनुसारको प्रक्रियाबाट निर्धारण हुनेछ ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण