एक साताभित्र जुत्ता,चप्पल र औषधीमा एमआरपी अनिवार्य राख्न निर्देशन

काठमाडौँ । सरकारले एक साताभित्र जुत्ता चप्पल र औषधीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक सङ्घ नेपाल र रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो ।
गत चैत देखिनै विभागले एमआरपी मूल्य सहित लेबल लगाउन निर्देशन गरेको भएपनि जुत्ता चप्पल र औषधीजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशनको पालना नगरेको पाइएपछि मङ्गलवार विभागका यी दुई सङ्घलाई बोलाएर छलफल गरेको थियो । सो छलफलमा सात दिनभित्र एमआरपीसहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले रातोपाटीलाई बताए ।
‘लेबलमा उल्लेख गर्नुपर्ने एमआरपीसहित उल्लेख गर्न आजको मितिबाट ७ दिनको समय दिएका छौँ,’ उनले भने,‘सातदिन भित्र अनिवार्य कार्यान्वयन नगरे कारबाही गर्छौँ ।’
नेपालको संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अङ्ग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।
सोही अनुसार पालना नगरेको पाइएपछि विभागले जुत्ता उत्पादक सङ्घ नेपाल र रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाल सँग यस विषयमा छलफल गरी लेबलमा उल्लेख उत्पादक सङ्घ र आपूर्ति सङ्घले सात दिन भित्र अनिवार्य कार्यान्वयन गर्ने गरी निर्णय गरेको हो ।
साथै निर्णय पछि विभागले सूचना जारी निर्देशन दिइएको छ । उक्त सूचनाको बेवास्ता वा अटेर गरी लेबल बिनाका वस्तुहरू बजारमा बिक्री वितरण प्रयोजनका लागि राखिएको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ ।
विभागले गत चैत १४ गते एक सूचना प्रकाशित गर्दै स्वदेशमा उत्पादित तथा आयातित वस्तुमा चैत २० गतेभित्र अनिवार्य एमआरपी उल्लेख गर्न निर्देशन दिएको थियो । उत्पादक तथा आयातकर्तालाई कुनै पनि वस्तु बजारमा पठाउनुअघि लेबल राखेर मात्र पठाउन निर्देशन दिइएको छ । तर यो निर्देशनको पालना सबै उत्पादक तथा आयातकर्ताले गरेको पाइँदैन ।
बजारमा पठाउने वस्तुको लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने एमआरपी उल्लेख गर्नुपर्ने जनाएको छ । साथै गुणस्तर निर्धारण भएको वस्तु भए वस्तुको गुणस्तर, मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने भए चेतनामूलक सन्देश, चित्र वा चिह्न प्रयोग गर्न निर्देशन दिइएको छ ।
यसैगरी इलेक्ट्रोनिक हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए ग्यारेन्टी वारेन्टी मिति, प्रज्वलनशील, दुर्घटनाजन्य, सजिलैसँग टुटफुट हुनसक्ने वस्तु भए त्यसको सुरक्षाका लागि पूर्वसावधानीसम्बन्धी विवरणसमेत उल्लेख गर्नुपर्ने जनाएको छ ।
साथै खुला रूपमा बिक्री गरिने फलफूल तरकारीजस्ता दैनिक उपभोग्य वस्तु बिक्रीका लागि भने लेबल राख्नुपर्ने छैन, तर आयात (प्याकेटमा ल्याइएका) गरिएका फलफूल तथा तरकारीमा लेबल राख्नुपर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख