कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्न खोज्ने बोर्ड कसरी पछि हट्यो ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा वैशाख २१ गतेदेखि गर्ने गरी सारेको छ । वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण सार्नु परेको हो ।
यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा लगायतका अधिकारीले छलफल गरेका थिए । छलफलपछि परीक्षा १० दिन पछि सार्न बाध्य भएको हो ।
बोर्ड आजै बिहान बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको थियो । त्यसका लागि देशभरका सबै संयन्त्र प्रयोग गरेर परीक्षा गर्ने भन्ने थियो ।
बोर्डको कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जिल्लास्थित इकाईहरू, स्थानीय तह, शिक्षक कर्मचारी लगायत परिचालन गरेर परीक्षा गरिने बताएका थिए । कुनै पनि हालतमा वैशाख ११ गतेदेखि नै गर्ने उनको अडान थियो ।
बोर्डका अध्यक्ष शर्माले समेत परीक्षामा सहभागी भएर सम्पन्न सहयोग गर्न सबैमा अनुरोध गरेका थिए । बिहान बैठक बसेर तोकिएकै मिति (वैशाख ११ गतेदेखि) गर्ने र त्यसका लागि सहयोग गर्न अनुरोध गरेको बोर्ड केही घण्टामै परीक्षाको मिति सार्न पुगेको हो ।
यसको पछिका थुप्रै कारण छन् । पहिलो कारण भनेको प्रधानमन्त्रीको परीक्षा सार्न अनुरोध । बोर्डको उक्त अडानपछि चौतर्फी विरोध भएको थियो । शिक्षकहरूले त परीक्षा गरेको खण्डमा प्रतिवाद गर्ने चेतावनी नै दिए ।
त्यसपछि आज बेलुका प्रधानमन्त्रीसँग परीक्षाको विषयमा छलफल भयो । छलफलका क्रममा बोर्डका अध्यक्ष शर्माले सम्पूर्ण परिस्थितिका विषयमा जानकारी गराए । सबै वस्तुस्थितिबारे जानकारी भएपछि प्रधानमन्त्रीले परीक्षा सार्न अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालय सदस्य प्रकाश सिलवालले बताए ।
‘परीक्षा सार्न भनेर नै निर्देशन दिनु भएको होइन । सार्न सकिने भए सार्नुस् भन्नू भएको हो । अब बोर्डले निर्णय गर्ला’, सिलवालले भने । प्रधानमन्त्रीसँगको छलफलपछि बोर्ड १० दिन पछि सार्ने निर्णयमा पुगेको हो ।
त्यसअघि वैशाख ११ गतेदेखि परीक्षा गर्न सकिने वा नसकिने भन्ने विषयमा देशभरबाट बोर्डलाई रिपोर्टिङ भएको थियो । अधिकांश ठाउँबाट यस्तो अवस्थामा परीक्षा गर्न नसकिने जानकारी बोर्डलाई आएको थियो ।
तर पनि बोर्डका अधिकारीहरू कुनै पनि हालतमा परीक्षा गराउन लागिपरेका थिए । आन्दोलनरत शिक्षकहरूले परीक्षाको प्रतिवाद गर्न र जबरजस्ती परीक्षा गर्न खोजेको खण्डमा देखाइदिने चेतावनी दिएका थिए ।
त्यस्तै बोर्डले तोकेको केन्द्राध्यक्षहरुले समेत धमाधम राजीनामा दिन थालेका थिए । रामेछापका १३ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षले सामूहिक राजीनामा दिएका थिए । त्यस्तै दैलेख, धनकुटा लगायतका जिल्लाबाट समेत केन्द्राध्यक्षहरुले धमाधम राजीनामा दिन थालेका थिए ।
राजीनामा पत्रमा उनीहरुले परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई हुकुमी शैलीमा परीक्षा केन्द्रमा जान आदेश दिएको भन्दै त्यस्तो अवस्थामा जान सकिने भनेका थिए ।
त्यस्तै नेपाल शिक्षक महासङ्घले समेत विज्ञप्ति जारी गर्दै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई परीक्षामा सामेल नहुन भनेको थियो । त्यस्तै नेपाल विद्यालय कर्मचारी परिषद्ले त झन् विद्यालय कर्मचारीहरूलाई विद्यालयको चाबी लिएर २४ घण्टाभित्रमा काठमाडौँको आन्दोलनमा आउन निर्देशनात्मक अनुरोध गरेको थियो ।
त्यस्तै निजामती कर्मचारीहरूलाई परिचालन गरेर परीक्षा गराउने भनेपछि कर्मचारी ट्रेड युनियनले समेत विरोध जनाउँदै परीक्षामा सहभागी नहुने प्रस्ट पारेका थिए । चौतर्फी घेराबन्दीमा परेपछि बोर्ड परीक्षा सार्न बाध्य भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?
-
च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर