बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला

बुधबार, १७ वैशाख २०८२, ०० : ५९
बुधबार, १७ वैशाख २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स हारेको छ । आईपीएलको ४८ औं खेलमा मंगलबार राती दिल्ली कोलकाता नाइट राइडर्ससँग  १४ रनले हारेको हो । दिल्लीको यो लगातार दोस्रो हार हो ।  

कोलकाताले भने तालिकामा सुधार गरेको छ । उसले १० खेलबाट नौ अंक पुर्‍याएको छ । यसअघि रोयल्स च्यालेन्जर्स बैंग्लुरुसँग हार व्यहोरेको दिल्ली १० खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । समान १२–१२ अंक भएका मुम्बई इन्डियन्स र गुजरात टाइटन्स रनरेटका आधारमा दिल्लीभन्दा माथि छन् भने १० खेलबाट १४ अंक जोडेको बैंग्लुरु शीर्ष स्थानमा छ । 

कोलकाताले दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा ८ वर्षपछि पहिलो जित निकाल्दै पुनरागमन गरेको छ । सन् २०१७ मा यो स्टेडियममा जित हात पारेको कोलकाताले त्यसपछि यो स्टेडियममा दिल्लीसँग खेलेका ३ खेल हारेको थियो । 

मंगलबार राती इतिहास उल्ट्याउने क्रममा कोलकाताले दिल्लीसामु २०५ रनको विशाल चुनौति पेश गरेको थियो । जहाँ घरेलु टोली दिल्ली नौ विकेट गुमाउँदै १९० रनमा समेटियो ।  दिल्लीका लागि फाफ डुप्लेसिसले सर्वाधिक ६२ रन बनाए । ४५ बल खर्चिएका उनले सात चौका र दुई छक्का प्रहार गरे । कप्तान अक्षर पटेलले ४३, विपराज निगमले ३८ र करुण नायरले १५ रनको योगदान दिए ।

अलराउण्ड प्रदर्शन गर्ने क्रममा कोलकाताका सुनील नरेन एक्लैले तीन विकेट लिए । वरुण चक्रवर्तीले दुई विकेट लिंदा अनुकुल रोय, वैभव अरोडा र आन्द्रे रसेलले एक-एक विकेट हात पारे । 

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । कोलकाताका रहमानुल्लाह गुरबाज र सुनील नरेनले तीव्र गतिमा रन बनाए । गुरबाजले मात्र १२ बलमा २६ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे । नरेनले १६ बलमा २७ रन बनाउँदै २ चौका र २ छक्का हिर्काए । 

टोलीका लागि अंगकृष रघुवंशीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ३२ बलको सामना गर्दै ३ चौका २ छक्का प्रहार गरे । त्यस्तै, रिंकु सिंहले २५ बलमा ३६ रन जोडे । उनले ३ चौका १ छक्का प्रहार गरे । कप्तान अजिंक्या रहाणेले १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २६ रन बनाए ।  खेलको अन्त्यतिर रनआउट हुनअघि आन्द्रे रसलले ९ बलमा १७ रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । कोलकाताले अन्तिम ओभर ३ विकेट गुमाएको थियो । 

दिल्लीका मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चेर तीन विकेट लिए । उनले अन्तिम ओभरमा २ विकेट लिएका हुन् । विपराज निगम र अक्षर पटेलले दुई-दुई  विकेट लिए भने दुस्मान्था चमिराले एक विकेट हात पारे ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?