शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

‘मकवानपुर महिला गोल्डकप’ आजदेखि, उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने

शुक्रबार, १९ वैशाख २०८२, १० : १४
शुक्रबार, १९ वैशाख २०८२

हेटौँडा । मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हेटौँडा–६ स्थित गौरिटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख अतिथ्यतामा  प्रतियोगिताको उद्घाटन समारोह हुने  प्रतियोगिताको संयोजक प्रताप विष्टले जानकारी दिए । छैटौँ संस्करणसम्म पुरुष गोल्डकप आयोजना गरेको संघले सातौँ संस्करणमा महिला गोल्डकप आयोजना गरेको हो । सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगिता नामाकरण गरिएको प्रतियोगिता अन्तर्गत आज शुक्रबारो उद्घाटन खेलमा मकवानपुर र चितवनको टिम भिड्ने छन् । रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर र चितवन फुटबल संघ बिच दिउँसो ३ः३० बजे खेल हुनेछ ।

प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहेको छ । जसमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिससहित मकवानपुर, रौतहट, चितवन जिल्लाको टिमसहित वीरगन्ज युथ एकेडेमी, संकटा र नवजनजागृति युवा क्लबको सहभागिता रहेको हो ।

हेटौँडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ, भमिफेदी र कैलाश गाउँपालिकाको ३÷३ लाख रुपैयाँसहित प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रको सहयोग रहेको बताइएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप