मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

होपको कप्तानीमा क्यारेबियन टोलीको घोषणा, अटाएनन् आईपीएल खेलिरहेका हेटमायर

मङ्गलबार, २३ वैशाख २०८२, १३ : ४६
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट बोर्डले निकट भविष्यमा हुने आयरल्यान्ड र इङ्ल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । शृङ्खला यसै महिनाको अन्त्यमा सुरु हुनेछ ।

क्यारेबियन टोलीले मे २१ देखि २५ तारिखसम्म आयरल्यान्डसँग उसैको घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । त्यसपछि वेस्ट इन्डिजको टोलीले मे २९ देखि जुन ३ तारिखसम्म इङ्ल्यान्डसँग उसैको घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । 

अनुभवी खेलाडी शिमरोन हेटमायरलाई भने क्यारेबियन टोलीमा स्थान दिइएको छैन । उनी हाल राजस्थान रोयल्सको टोलीबाट इन्डियन प्रिमियर लिग खेलिरहेका छन् तर, उनको प्रदर्शन भने  निराशाजनक देखिएको छ । 

वेस्ट इन्डिजको टोली शाई होपको कप्तानीमा रहनेछ । टोलीमा ब्रान्डन किङ, एर्विन लुइस र किसी कार्टीलाई पनि स्थान दिइएको छ । आईसीसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी ज्वेल एन्ड्र्यूले पनि टोलीमा स्थान पाएका छन् । 

क्यारेबियन टोलीका प्रमुख प्रशिक्षक ड्यारेन सामीले सन् २०२७ को विश्वकपको तयारीलाई ध्यानमा राखी टोलीको चयन गरिएको बताए । वेस्ट इन्डिज क्रिकेट बोर्डले प्रशिक्षण टोलीमा पनि केही परिवर्तन गरेको छ । 

आफ्नै पूर्वखेलाडी रवि रामपौललाई नयाँ बलिङ प्रशिक्षक बनाइएको छ । उनी वेस्ट इन्डिजका पूर्वबलर हुन् । उनले जेम्स फ्रान्कलिनको स्थान लिएका हुन् । केभिन ओ’ब्रायनलाई पनि प्रशिक्षण टोलीमा समावेश गरिएको छ । उनी आयरल्यान्डका पूर्वअलराउण्डर हुन् । 

घोषित टोलीमा शाई होप (कप्तान), ज्वेल एन्ड्र्यू, किसी कार्टी, रोस्टन चेज, म्याथ्यू फोर्ड, जीसटन ग्रिब्स, आमिर जंगु, अल्जारी जोसेफ, शमर जोसेफ, ब्रान्डन किङ, एविन लुइस, गुडाकेश मोटी, शेरफन रदरफोर्ड, जेडन सिल्स र रोमारियो शेफर्ड रहेका छन् । 

वेस्ट इन्डिज र आयरल्यान्डबिचको पहिलो एकदिवसीय मे २१ तारिखमा डब्लिनमा खेलिनेछ । यी दुई टोलीबिचको दोस्रो खेल मे २३ र तेस्रो खेल मे २५ तारिखमा खेलिने छ । वेस्ट इन्डिज र आयरल्यान्डबिचको तीनवटै खेल डब्लिनमा खेलिने बताइएको छ । 

यसैगरी, वेस्ट इन्डिज र इङ्ल्यान्डबिचको पहिलो एकदिवसीय मे २९ तारिखमा बर्मिङ्घममा खेलिने छ । यी दुई टोलीबिचको दोस्रा खेल जुन १ तारिखमा कार्डिफमा र तेस्रो खेल जुन ३ तारिखमा दी ओभलमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप