बलात्कारमा परेका ८० प्रतिशत दलित महिला मारिन्छन्

काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–१ की रिंकुकुमारी सदाको बलात्कार भएको केही दिनपछि झुण्डिएको अवस्थामा शव फेला पर्यो ।
१७ वर्षीया रिंकु माघ २७ गते राति शौचालय जान भनेर निस्केकी थिइन् । तर २८ गते बिहान ३ बजे मात्र उनी घर फर्किएकी थिइन् । त्यसपछि २९ र ३० गते स्थानीय पञ्चायत बसेर यस घटनामा मेलमिलाप गराइँदै थियो । यसबिच विवाद भइरहँदा उनी ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् ।
यस्तै सिराहाको नवराजपुर गाउँपालिकै वडा नम्बर ३ जगतपुरकी २५ वर्षीय आनन्दीदेवी पनि यस्तै पीडाको सिकार भएकी थिइन् ।
यौन दुव्र्यवहारपीडित आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएकी थिइन् । माइतीघरमा बस्दै आएकी उनी दुई वर्षीय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन् । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरेका थिए ।
त्यहाँबाट जसोतसो उम्किन सफल उनी पुनः माइतमै फर्किन सफल त भइन्, तर त्यस घटनाले बाँच्न भने दिएन । घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौँतारिइन् । चारैतिरबाट न्यायको आस मरेपछि अन्ततः मृत्यु नै अन्तिम विकल्प बनेर आयो । र यही वैशाख २ गते उनी मृत फेला परिन् ।
यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरस्थित रामबस्तीकी २० वर्षीय पूजाकुमारी रामको पनि शव फेला पर्यो (मृत्युको कारण) यही वैशाख १ गते राति घरबाट एक्कासि बेपत्ता भएकी उनी घरको एक किलोमिटर दक्षिणतर्फ तीनगछिया भन्ने ठाउँमा खेतमा वैशाख २ मृत अवस्थामा फेला परेकी थिइन् ।
कहिले स्थानीय पञ्चायतीका नाममा दबाइएका छन् त कतै प्रहरी प्रशासन नै मिलेर मिलापत्रमा टुंग्याएका छन् । जसका कारण मधेसी दलित महिलामाथि भइरहेका बलात्कार र हत्याजस्ता जघन्य अपराध रोकिन सकेका छैनन् ।
उनीमाथि केहीअघि बलात्कारको प्रयाससमेत भएको थियो । उक्त घटनामा मुद्दा परेपछि अदालतले दोषीलाई ८ महिनाको कैद र ७ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
तर अदालतको उक्त आदेश कार्यान्वयन हुन नपाउँदै पूजाको शव फेला पर्यो । पूजा मधेसी दलित समुदायकी हुन् ।
मधेसमा दलित महिलामाथि हुने गरेका र भइरहेका बलात्कार र यौन हिंसाका यी पछिल्ला उदाहरण मात्र हुन् ।
मधेस प्रदेशका सिरहा र सप्तरीमा भएका यी तीन वटै घटना गएको माघदेखि वैशाखसम्मका हुन् । यी पनि सञ्चारमाध्यममा आएपछि मात्र बाहिरिएका थिए ।
मधेसमा यस्ता थुप्रै घटना भइरहेका छन्, जहाँ कहिले स्थानीय पञ्चायतीका नाममा दबाइएका छन् त कतै प्रहरी प्रशासन नै मिलेर मिलापत्रमा टुंग्याएका छन् । जसका कारण मधेसी दलित महिलामाथि भइरहेका बलात्कार र हत्याजस्ता जघन्य अपराध रोकिन सकेका छैनन् ।
- तथ्यांकले के भन्छ ?
दलित महिला संघले २०८१ मा गरेको एक अध्ययनअुनसार नेपाल प्रहरीको विवरणमा हिंसापीडित दलित महिलाको संख्या ११.५४ प्रतिशत छ ।
त्यस्तै हिंसापीडित दलित बालिकाको संख्या १९.४४ प्रतिशत छ । राष्ट्रिय महिला आयोगमा दर्ज भएको अभिलेखमा घटनामध्ये ११.३४ प्रतिशत दलित महिलासँग सम्बन्धित छन् । इन्सेकको तथ्यांकमा पनि हिंसामा परेका महिलामध्ये दलितको संख्या २२.५८ प्रतिशत छ ।
जनसंख्याको हिसाबले दलित महिला अत्यधिक हिंसामा पर्ने गरेका यी तथ्यांकहरूले देखाउछन् । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी महिला हिंसा हुनेमा मधेस प्रदेश (३१.५३ प्रतिशत) देखिएको छ । सबैभन्दा कम भने गण्डकी प्रदेश (३.६८ प्रतिशत)मा भेटिएको छ ।
यसैगरी घटना दर्ताका हिसाबले भने बागमती प्रदेशमा सबैभन्दा बढी छ । महिला आयोगका अनुसार बागमतीमा ९१.३२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएका छन् ।
यी जति पनि तथ्यांक सार्वजनिक भएका छन्, सबै पीडितबाट आएका उजुरीका आधारमा हो । लुकाइएका र बाहिर नल्याइएका धेरै घटना रहेका दलित महिला संघकी महासचिव रेणु सिजापति बताउँछिन् ।
‘धेरै घटना डरले, इज्जतले, दबाबले लुकाइएका छन्,’ उनी भन्छिन्, ‘ती सबै घटना बाहिर आयो भने अवस्था झनै भयावह हुन्छ ।’
‘जो कमजोर हुन्छ, उसकै बलात्कार हुन्छ, यौन हिंसा हुन्छ,’ उनी भन्छन्, ‘दलित महिला आर्थिक र सामाजिक रूपमा कमजोर छन्, त्यही भएर उच्च भनिएका जातीले बलात्कार गर्छन् ।’
प्रहरीकै रिपोर्टअनुसार प्रत्येक दिन १० जना महिलाको बलात्कार हुने गरेको र त्यसमा तीन जना दलित महिला हुने उनी बताउँछिन् ।
दलित महिला संघले २०७५ सालमा सार्वजनिक गरेका एउटा तथ्यांक त झनै डरलाग्दो छ । जसअनुसार भएका बलात्कारका घटनामध्ये ८० प्रतिशत दलित महिला मारिएका छन् ।
संघले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार १० महिना (२०७५) मा ७२९ वटा यस्ता घटना भए । जहाँ १५४ वटा घटना दलित समुदायका बालिका तथा युवतीमाथि भएका छन् ।
यस्तोमा धेरैजसो घटनापछि कर्तुत बाहिरिने डरले हत्या गरिएको छ भने कहीँ प्रमाण नष्ट गर्नका लागि हत्या भएको भेटिएको सप्तरीमा रहेका दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवान बताउँछन् ।
‘जो कमजोर हुन्छ, उसकै बलात्कार हुन्छ, यौन हिंसा हुन्छ,’ उनी भन्छन्, ‘दलित महिला आर्थिक र सामाजिक रूपमा कमजोर छन्, त्यही भएर उच्च भनिएका जातीले बलात्कार गर्छन् ।’
दलित महिलामाथि भएका बलात्कारलाई उच्च जातीले आफ्नो अधिकार ठानेर सामान्य रूपमा लिने गरेको दुःखद अवस्था रहेको उनले बताए ।
- घटना रहस्यमय किन ?
दलित महिलाको बलात्कारपछि हत्या हुन्छ । त्यो कुरा बाहिर पनि आउँछ तर घटना रहस्यमय हुँदै जान्छ । मधेसमा यस्तै भइरहेको बलात्कारसम्बन्धी विभिन्न घटनाक्रमले यस्तै देखाइरहेको छ ।
२०७५ सालमा निर्मला पन्तको हत्यामा पनि यही अवस्था देखिएको थियो । जुन आजसम्म रहस्यमय नै छ ।
‘बलात्कारपछि महिला र बालिकाको हत्या गर्नुको मुख्य कारण नै प्रमाण नष्ट गर्नु हुन्छ,’ सामाजिक अभियन्ता रीता साह भन्छिन् ।
त्यस्तै २०७७ भदौमा धनुषाको धनौजी गाउँपालिका–१ लखौरीकी १७ वर्षीय अमिरका कुमारी दासको पनि बलात्कारपछि हत्या भएको थियो । उनको शव रेल्वे ट्रयाकमा फेला परेको थियो ।
प्रहरी कार्यालय धनुषाले यस घटनामाथि प्रारम्भिक अनुसन्धान त गर्यो, तर दोषी हालसम्म फेला पर्न सकेको छैन ।
त्यही महिनामा रौतहट गढीमाई–३ लक्ष्मीपुरकी मिन्त्री देवी घाँस लिन उखुबारीमा गएकी थिइन् । स्थानीय केही व्यक्तिले उनलाई उखुबारीमा लगेर बलात्कार गरी हत्या गरे । मिन्त्रीका आफन्तले किटानी जाहेरी दिए । तर हालसम्म त्यो अनुसन्धानकै क्रममा छ ।
सुर्खेत जिल्लामा १५ वर्षीय दलित बालिकालाई २३ वर्षीय ठकुरी युवकले प्रेममा पारी विवाहको बहानामा दुई महिनासम्म सुर्खेतमा डेरा गरी राख्यो । उनीहरूको मुद्दा प्रहरीमा पुगेपछि प्रहरीकै सामुन्ने केटाको परिवारले केटीलाई कुटपिट गरे । हाल ती युवती कहाँ छिन्, कुनै अत्तोपत्तो लागेको छैन ।
‘बलात्कारपछि महिला र बालिकाको हत्या गर्नुको मुख्य कारण नै प्रमाण नष्ट गर्नु हुन्छ,’ सामाजिक अभियन्ता रीता साह भन्छिन्, ‘बलात्कार वा यौन हिंसा गरेपछि त्यो कुरा बाहिर नजाओस् अरू थाहा नपाउन् भनेर पीडितलाई नै हत्या गर्ने गरेको पाइन्छ ।’
दलित महिलामाथि बलात्कार तथा अन्य किसिमका हिंसा हुनुका तीन कारण देख्छिन्, फेडोका महासचिव सिजापति ।
पहिलो कुरा, महिला हुनु नै कमजोरीजस्तो छ । त्यसमा दलित महिला त झन् कमजोर हुन्छन् । अर्को कुरा, आर्थिक रूपले कमजोर हुनु । र, तेस्रो कारण शिक्षाको अभाव ।
यी तीनै कुरा दलित महिलासँग नहुने र त्यसकै फाइदा उठाएर उच्च जातका पुरुषहरूले उनीहरूमाथि हिंसा गर्ने सिजापति तर्क गर्छिन् ।
‘पीडितको पहुँच राज्यसम्म हुँदैन, प्रहरी प्रशासनले पनि पत्याउँदैन र कानुनको जानकारी नभएकाले झनै पीडित बन्नुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘कतिपय अवस्थामा आर्थिक लोभमा पारेर घटना दबाइएको हुन्छ ।’
- पञ्चहरूले मिलाउँछन् घटना
खासगरी दलित तथा कमजोर महिलामाथि हुने बलात्कार तथा हिंसालाई बढवा दिने काम स्थानीयस्तरका नेता तथा अगुवाहरूबाट धेरैजसो हुने गरेका छन् । आर्थिक प्रलोभन र सामाजिक वञ्चितीको त्रास देखाउनाले यस्ता घटनामा कमी नआएको सिजापति बताउँछिन् । साथै गाउँघरमा हुने पञ्चायतले कहिल्यै पनि दलित महिलाको साथ नदिएको आफूले पाएको उनी सुनाउँछिन् ।
‘हामीले अध्ययन गर्दा गाउँका पञ्चहरू पनि बलात्कार वा हिंस्रककै पक्षमा हुन्छन्,’ उनी भन्छिन्, ‘पञ्चहरू सबै उच्च जातका धनीमानी हुन्छन्, उनीहरूकै बोलबाला हुन्छ, उनीहरूका अगाडि दलितहरू बोल्न पनि हिम्मत गर्दैनन् अनि जे निर्णय गर्दिए पनि भयो ।’ जसले गर्दा बलात्कारीहरूको मनोबल झनै बढ्ने गरेको उनी यथार्थ बताउँछिन् ।
खासगरी तराई–मधेसका गाउँमा यस्ता समस्या विकराल देखिने गर्छन् । घरमै पुगेर केही रकम दिएर बलात्कारजस्तो जघन्य अपराधका घटनामा मिलापत्र हुने गरेका चमार कल्याण समाजका वरिष्ठ सल्लाहकार नीलाराम (पर्सा) बताउँछिन् । ‘देशमा संघीय गणतन्त्र दलित महिलाका लागि आएकै होइन, यो गणतन्त्र आएपछि बलात्कार तथा यौन हिंसाका घटना झन् बढेको देखिएको छ,’ उनी भन्छिन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूले पनि दलित महिलालाई नै दोष देखाएर दबाएर राख्ने गरेको पाइएको उनी बताउँछिन् । ‘उनीहरूले पनि उच्च जातका व्यक्तिहरूको पक्षमा फैसला गरेका हुन्छन्,’ भन्छिन्, ‘गैरदलित उच्च जातकाहरूसँग पैसा र पावर हुन्छ । जहाँ पैसा पावर हुन्छ, जनप्रतिनिधिहरू पनि त्यहीँ हुन्छन् ।’
पैसा र राज्यसत्तासँग पहुँच भएकाहरूले बलात्कार र हत्यालाई सामान्य बनाइरहेका नीला बताउँछिन् । ‘बलात्कार गरेर उल्टै हत्या गर्दिन्छन्, पीडितहरू जनप्रतिनिधिका अगाडि चुइँक्क बोल्न सक्दैनन्,’ भन्छिन्, ‘प्रहरी प्रशासनले पनि त्यसैलाई साथ दिने गरेका छन् ।’
जिल्लाका प्रहरीलाई स्थानीय तहका प्रतिनिधिले पाल्ने गरेकाले जनप्रतिनिधिले जे भन्यो प्रहरीले त्यही मान्ने गरेका उनी आरोप लगाउँछिन् । ‘अनि यस्तो अवस्थामा दलित महिलाले न्याय पाउने सम्भावना त शून्य हुन्छ,’ उनी भन्छिन् ।
अहिले मिडियाले घटनाबारे छर्लङ्ग पारिदिएपछि भने यस्ता घटना प्रहरी तथा अदालतसम्म पुग्ने गरेका फेडोका महासचिव सिजापति बताउँछिन् ।
‘बलात्कारजस्ता जघन्य घटना गाउँघरमा भयो भने त्यहाँका ठुलाबडालाई दसैँ आएजस्तो हुन्छ,’ उनै सिजापति दोहोर्याउँछिन्, ‘अनि बलात्कारको मुद्दा मिलाउने नाममा दुवै पक्षबाट उनीहरूले पैसा उठाउन थाल्छन् ।’
अपराधमा पनि बिचौलिया प्रणाली मौलाएको देखिने गरेको उनी बताउँछिन् ।
मिलापत्र गराउन नसकिए डर, धम्की दिएर पीडितलाई विस्थापितसम्म गराउने उदाहरणहरू पनि प्रशस्त भेटिएका छन् । कतिपय अवस्थामा त जनप्रतिनिधि र स्थानीय सामाजिक अगुवाहरूले नै मिलापत्र गराउन पीडितलाई दबाब दिने र नमाने यातना दिएर गाउँ छाड्न बाध्य बनाएका घटना हुने गरेका सामाजिक अभियन्ता रीता साह बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आव्हान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ