बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !

आइतबार, २८ वैशाख २०८२, १० : ५५
आइतबार, २८ वैशाख २०८२

‘हामी जिउँदा मानिस बोल्न सकेनौँ, अनि आर्यघाटमा दाउरा नपाएर मुर्दा बोल्यो, खै हामीलाई जलाउने दाउरा ?’ २०३१ पुस १३ गते भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सूर्यबहादुर थापाले भनेका थिए । राजा वीरेन्द्रको जन्मोत्सव (भोलिपल्ट पर्ने)का अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थिए । तत्कालीन समयमा पशुपति आर्यघाटमा मृतकको दाहसंस्कार गर्ने दाउरा नपाएर शोकाकुल परिवार हैरान थिए । पैसा तिरेर पनि दाउरा पाउन कठिन थियो, (भैरव रिसालद्वारा लिखित ‘उहिलेको नेपाल’) ।

उपर्युक्त विचार थापाबाट व्यक्त भए पनि समग्रमा देशको वर्तमान अवस्था जनाउने जनप्रतिनिधिको प्रतिनिधिमूलक आवाज थियो । यद्यपि सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका विरोध र समर्थनका जिउँदा र आकर्षक पात्र र प्रवृत्ति थिए । एकातर्फ उनी पञ्चायतका नाइके र जनमत संग्रहमा राज्यशक्तिको दुरुपयोग गर्दै धाँधलीपूर्ण ढंगले सुधारिएको पञ्चायती व्यवस्थालाई जिताउने नकारात्मक पात्रका रूपमा दर्ज भएका छन् । अर्कातर्फ दरबारभित्रको अवैध र आपराधिक शक्तिका रूपमा रहेको भूमिगत गिरोहको पर्दाफासकर्ता र बहुदलको पुनर्स्थापनापश्चात् पनि प्रधानमन्त्री भएका जिउँदा पात्र हुन्, तर निरंकुश पञ्चायती व्यवस्थाका कट्टर हिमायती थापाले निरंकुश राजाको जन्मोत्सवको उपलक्ष्यमा प्रशस्ति भजनका लागि आयोजना गरिएको कार्यक्रमा व्यंग्यात्मक ढंगले आर्यघाटमा मुर्दा बोल्यो भन्ने भनाइ राख्नु र भूमिगत गिरोहको पर्दाफास गर्नु भने निकै ठुलो साहसिक कदम मान्नुपर्छ । एउटा भनाइ शासकीय असक्षमतासँग सम्बन्धित छ भने अर्काे भनाइ राज्यशक्तिको छद्म भेषमा गरिएको दुरुपयोग र यसले सिर्जना गरेको विकृत र विसंगतिसँग सम्बन्धित छ । समयका हिसाबले ५० वर्ष व्यतीत भएको छ । यतिखेर मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ । 

वैश्विक प्रणालीले आफूलाई थप तिख्खर र निख्खर बनाउँदै लगेको छ । दुनियाँ एआईको युगबाट एजीआईको युगतर्फ पदार्पण गर्दै छ । ग्लोबलाइजेसनको स्वरूपमा पनि निरन्तर परिमार्जन हुँदै गएको छ । दुनियाँ बहुध्रुवीय शक्ति केन्द्रमा विभाजित हुँदै गएको छ । समकालीन विश्वको परिवेशमा हाम्रो मुलुक भने निरन्तर भिजन, मिसन र एक्सनविहीन जेरोन्टोहरूबाट सञ्चालित दलतन्त्रको चंगुलमा फस्दै गएको छ । हुँदाहुँदा लोकतन्त्र नै दलतन्त्रको भेन्टिलेटरमा पुग्ने खतरा बढ्दै गएको छ, तर त्यसबाट प्रताडीत जिउँदा क्षेत्रहरू आर्यघाटमा मुर्दा बोलेजस्तो बोल्न सकिरहेका छैनन् । तसर्थ मिसन चौरासी होइन, भिजन चौरासीको बनाउने उद्देश्यका साथ पुनः आर्यघाटमा मुर्दा बोलेजस्तै देशैभरिका ज्युँदा यसरी बोल्नुपर्छ ।

किन बोल्दैनन् गिरिबन्धु, यतिहोल्डिङ्ग्स, ललिता निवास, वाइडबडी, भुटानी शरणार्थी, सहकारी ठगीजस्ता काण्डहरू— इतिहासमा मलाई कलंक बनाएर नराख छिटो न्यायिक छानबिन गर भनेर !

अब जिउँदा यसरी बोलौँ ।

जारी हुँदैको बखत सर्वस्वीकार्य हुन नसकेको संविधान किन बोल्दैन, मलाई संशोधन गरेर समयानुकूल र जनअपेक्षा सम्बोधन हुने गरी सर्वस्वीकार्य बनाउ भनेर ! दलीय सिन्डिकेटले भेन्टिलेटरमा पुगेको लोकतन्त्र, संघीयता, गणतन्त्र र समवेशिता किन बोल्दैन— मलाई थप लोकतान्त्रिकीकरण गर, मलाई पूर्ण संघीय स्वरूप देउ, अनि म गणतन्त्रलाई संस्थागत विकास किन गरेनौ र ममाथि विरोध हुन थाल्यो, खबरदार मेरो अकाल हत्या गरौला भनेर !  

किन बोल्दैनन् प्रदेशहरू, मलाई अधिकार सम्पन्न बनाउ भनेर ! किन बोल्दैनन् संवैधानिक अंगहरू, ममाथि बारम्बार हस्तक्षेप गरेर पङ्गु नबनाउ भनेर ! किन बोल्दैनन् दलहरू ? मलाई लोकतान्त्रीकरण गर भनेर । किन बोल्दैनन् प्रशासन र राजनीति— मलाई यति भ्रष्ट र तानाशाही नबनाउ, यो मेरो धर्म र कर्म होइन भनेर ! किन बोल्दैनन् गरिबी र सुशासन, म कहिले हुने हुनेखाने, भ्रष्टाचार र बेथितिको पिँजडामा कैद गरेर कहिलेसम्म गर्छाै मेरो नामको कालोबजारीकरण भनेर ! 

किन बोल्दैनन् गिरिबन्धु, यतिहोल्डिङ्ग्स, ललिता निवास, वाइडबडी, भुटानी शरणार्थी, सहकारी ठगीजस्ता काण्डहरू— इतिहासमा मलाई कलंक बनाएर नराख छिटो न्यायिक छानबिन गर भनेर ! 

किन बोल्दैनन् दलका दोस्रो पुस्ताका नेताहरू, कहिलेसम्म गुटबन्दी गर्छाै र कहिले नेतृत्व हस्तान्तरण गर्छाै भनेर ! किन बोल्दैन नागरिक समाज, यावत् विकृतिको अन्त्य गर भनेर । किन बोल्दैनन् बन्न बाँकी ऐन–कानुन, मेरो भ्रूण हत्या नगर भनेर ! किन बोल्दैन् अर्थनीति, मलाई अनियन्त्रित उदारवादको सिकार नबनाउ भनेर ! किन बोल्दैन परराष्ट्र नीति, मलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम हुने गरी असन्तुलित र लम्पसारवादी नबनाउ भनेर ! किन बोल्दैनन् विद्यार्थी, मलाई मेरो देशमा पढ्ने वातावरण बनाइदेउ भनेर ! किन बोल्दैनन् स्वास्थ्य र शिक्षा— मलाई माफियाकरणबाट मुक्त गर भनेर !  

किन बोल्दैनन् असंलग्नता र पञ्चशीलका सिद्धान्त, अब म तिमीहरूलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्छु भनेर ! किन बोल्दैन न्यायालय मलाई हेर्दाहेर्दैको सिकार नबनाउ भनेर ! किन बोल्दैनन् बेरोजगार— कहिलेसम्म मलाई विदेशमा बेच्छौ, मेरो पसिना र रगतको मूल्यका रूपमा भित्रिएको रेमिटान्समाथि रजगज गर्छाै भनेर ! किन बोल्दैन हिमाल र पहाड, म रित्तिएँ भनेर ! किन बोल्दैन तराई, मैले अत्यधिक जनघनत्वको चाप थाम्न सकिनँ भनेर ! किन बोल्दैन वन–जंगल र वातावरण, म समाप्त हुने गरी मेरो दोहन नगर भनेर ! 

किन बोल्दैनन् दलका दोस्रो पुस्ताका नेताहरू, कहिलेसम्म गुटबन्दी गर्छाै र कहिले नेतृत्व हस्तान्तरण गर्छाै भनेर ! किन बोल्दैन नागरिक समाज, यावत् विकृतिको अन्त्य गर भनेर ।


 

किन बोल्दैन बाँदर र अन्य जंगली जनावर, मेरो आहारा खोई भनेर ! बाँझो खेत र सुकेका कुलाहरू किन बोल्दैनन्, मलाई खेती गरी हराभरा बनाउ र मर्मत गरी पानी चलाउ भनेर ! भत्केका भौतिक संरचनाहरू किन बोल्दैनन्, मलाई कहिलेसम्म अंगभंग भएको अपांग अवस्थामा राख्छौ भनेर ! किन बोल्दैनन्, आमउपभोक्ताहरू मलाई कालोबजारको सिकार नबनाउ भनेर ! किन बोल्दैन लोडसेडिङ, मलाई दैनिक सराप्ने नबाउ भनेर ! किन बोल्दैनन् खोलानाला— हामी नेता र दलालको झोलामा जाँदैनौ, अनि कौडीको भाउमा नबेच भनेर ! किन बोल्दैनन् दलहरू, मेरा लागि सबै सदस्य समान हुन् भनेर ! किन बोल्दैन चुरे, मलाई अत्यधिक दोहन गरेर देशलाई मरुभूमि नबनाउ भनेर ! किन बोल्दैन सगरमाथा, मलाई अन्तर्राष्ट्रिय रूपमा बेइज्जत नगर भनेर ! किन बोल्दैन लुम्बिनी, विश्वमा शान्तिको सन्देश दिने मुलुक आफैँ सधैँ अशान्ति छ भनेर इत्यादि ! 

२०३१ सालमा आर्यघाटमा मुर्दाको आवाज सूर्यबहादुरले बोल्दा सञ्चारका साधन अत्यन्त सीमित थिए । वाक् स्वतन्त्रता थिएन । सरकारी स्तरबाट सञ्चालित रेडियो नेपाल र गोरखापत्रजस्ता माध्यममा पनि सेन्सरसिप लागु गरिएको थियो । अहिलेको जस्तो निजी रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन मिडियाहरू र सामाजिक सञ्जालहरूको विकास भएको थिएन । नागरिक समाज संगठित थिएन, तर आजको खुला परिवेशमा समेत जनताका यी आवाज जिम्मेवारीका साथ बोल्ने जिउँदा दल र नेता नेपाली जनताले पाएको आभास व्यवहारमा गर्न सकेका छैनन् । योभन्दा ठुलो विडम्बना र दुखान्त के हुन सक्छ ! लाग्छ, मुलुक यतिखेर ‘मेगालोमेनियाक’बाट ग्रसित ‘काकिस्टोक्रेसी’बाट गुज्रिरहेको छ । तसर्थ अब बालिग वा मताधिकार प्राप्त प्रत्येक नागरिकले आफैँ बोल्नुपर्छ । तब मात्र सिंगो राष्ट्र बोल्छ । जब सिंगो राष्ट्र बोल्छ, तब मिसन चौरासी भिजन चौरासीमा परिणत हुनेछ । नत्र थप दुःख र कष्टका साथ परिवर्तनका लागि निरन्तर संघर्ष गर्दै ०८९ को निर्वाचन पर्खनुपर्ने छ । थप पाँच वर्ष त्यसै खेर जानेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप