सम्बन्धहरू फूलजस्तै हुन्छन् !

समाचार सारांश
- लेखमा शिक्षकको रूपमा अनुभव, विभिन्न विद्यार्थी र अभिभावकहरूसँगको सम्बन्धको विषय प्रस्तुत गरिएको छ।
शिक्षक भएको नाताले थुप्रै विद्यार्थी, अभिभावक र सहकर्मीसँग मेरो भेट भयो । यस क्रममा मैले असंख्य अनुभव बटुल्न पाएकी छु ।
विभिन्न परिवेश, क्षमता, रुचि र पारिवारिक पृष्ठभूमिका विद्यार्थीलाई पढाउनु, बुझाउनु र उनीहरूको साथी बन्नु चानचुने चुनौती होइन । हरेक विद्यार्थीको बानी–व्यवहार र स्वभाव बुझेर आफूले व्यवहार गर्नुपर्ने हुन्छ । विद्यार्थीसँगको व्यवहारका कारण अभिभावकसँग पनि परिचय बन्छ । कतिपय अभिभावकले मलाई आफ्ना मनका कुरा निर्धक्कसँग सुनाउनुहुन्थ्यो, मलाई पनि उहाँहरू आफ्नै परिवारका सदस्यजस्तै लाग्थ्यो । यो सुमधुर सम्बन्धकै कारण आफ्नो कार्य क्षेत्रमा सहज वातावरण र हौसला मिल्छ ।
आजसम्म मैले आधा दर्जनभन्दा बढी स्कुलहरूमा काम गर्ने सुअवसर जुट्यो । यसै क्रममा एक दिन स्कुलमा एकजना अभिभावक (विद्यार्थीकी आमा)सँग प्रत्यक्ष कुराकानी गर्ने अवसर मिल्यो । उहाँ मलाई भेट्नका लागि स्कुलमै आउनुभएको थियो । मैले सोचेकी थिएँ, कुनै गुनासो लिएर आएको हुन सक्छ । मनमा अनेक कुरा खेलाउँदै डर बोकेर म प्रिन्सिपल म्यामको कक्षमा गएँ । त्यस क्षण उहाँको कक्षमा सन्नाटा छाएको थियो । प्रिन्सिपल म्याम र मलाई भेट्न प्रतीक्षारत अभिभावकलाई अभिवादन गरेर म सोफामा बसेँ, प्रिन्सिपल म्यामसँग सञ्चोबिसञ्चो सोधेँ ।
मेरो बाबुले अम्बिका म्याम नआउने दिन स्कुल नै जान्न भन्न थालेको छ । मैले किन बाबु भनेर सोध्दा उसले भन्यो— हजुरले जस्तै, अझ हजुरले भन्दा धेरै माया र हेरचाह गरिसिन्छ मामु म्यामले त ।
म्यामले भन्नुभयो, ‘बाबुले घर गएर त्यस्तो भनेछन् है ।’ मलाई अझ शंका भयो, कतै मबाट कुनै गल्ती नै पो भएछ कि ! म त्रासमै थिएँ । अभिभावकले भन्नुभयो, ‘हेर्नुस् न, मेरो बाबुले अम्बिका म्याम नआउने दिन स्कुल नै जान्न भन्न थालेको छ । मैले किन बाबु भनेर सोध्दा उसले भन्यो— हजुरले जस्तै, अझ हजुरले भन्दा धेरै माया र हेरचाह गरिसिन्छ मामु म्यामले त । कसैलाई गाली नगरी सबैलाई पालो दिएर खेलाउँदै पढाइसिन्छ मामु । हजुर त बेला–बेला रिसाइसिन्छ मसँग । खाना पनि खुवाइसिन्न । अम्बिका म्यामले त सबै गरिसिन्छ । म्याम मलाई धेरै मन पर्छ नि !’
म हर्षविभोर भएँ, मेरा आँखा रसाए । मैले कताकता महसुस गरेँ— म आफ्नो पेसामा सफल भएँ । एउटा अबोध विद्यार्थीले ममाथि आफ्नै आमालाई भन्दा बढी भरोसा गरेको छ ।
हामी सबै खुसी भयौँ । दिनदेखि उहाँ अभिभावकसँग पनि म नजिकिएँ । आजसम्म हाम्रो सम्बन्ध निकै राम्रो छ ।
हाम्रो जीवनमा अनगिन्ती सम्बन्ध बन्ने गर्छन्— साथीभाइको सम्बन्ध, सहकर्मीको सम्बन्ध, जन्मघरको सम्बन्ध, कर्मघरको सम्बन्ध आदि ।
म एउटा छोरी मान्छे भएकाले मैले आफूले जन्मेको घर ढिलो–चाँडो छोड्नुपथ्र्यो । मैले पनि उपयुक्त उमेरमै आफूले रोजेको मान्छेसँग बिहे गरेँ । अनि म ललितपुर (जन्मघर)बाट काभ्रे (कर्मघर)को स्थानीय बासिन्दा हुन पुगेँ । जन्मघरमा कान्छी छोरी र कर्मघरकी पनि कान्छी बुहारी । माया, साथ र समझदारीमा मलाई केही कमी छैन । मलाई बुझ्ने र सपोर्ट गर्ने सासुससुरा लगायत परिवार पाएकी छु । उहाँहरूको सपोर्टले गर्दा नै आज म यो स्थानमा छु ।
अध्यापन गराउने क्रममा मेरा धेरै साथीहरू बने । सबै सम्बन्ध सधैँ उस्तै रहँदैनन् । कतिपय सम्बन्ध सधैँ विशेष पनि रहन्छन् ।
एक दिन म स्कुलमा अचानक पेट दुखेर मुर्छा परेँ । मलाई निकै गाह्रो भएको थियो, त्यसबेला मेरो मासिक चक्र चलिरहेको थियो । पेटको दुखाइ सहन नसकेर म सोफामा बसेर रोइरहेकी थिएँ । दुखाइ यति बढेको थियो कि बाँच्दिनँजस्तो लागेको थियो । म रोइरहेको देखेर कक्षा ३ मा बढ्ने एउटी नानीले देखिन् र सोधिन्, ‘म्याम, हजुरलाई के भयो ? किन रोइसेको ?’
मैले उनलाई भनेँ, ‘मेरो पेट दुखेको छ, फलानी म्यामलाई बोलाइदेउ त !’ त्यतिबेला मेरो श्रीमान् देशबाहिर हुनुहुन्थ्यो । त्यस दिन मलाई साबिकभन्दा पनि बढी श्रीमान्को याद आयो ।
मलाई सहकर्मी साथीहरुले नजिकैको अस्पतालमा लैजानुभयो । स्कुलको सबै टिम मिलनसार र सहयोगी भएकै कारण मेरो उपचार छिटो हुन सफल भयो । उपचारका क्रममा भिडियो एक्स–रे र केही स्वास्थ्य परीक्षण गरिएको थियो । डाक्टरको सुझाव अनुसार मैले केही दिन आराम गरी बस्नुपर्ने भयो ।
यसै क्रममा सहकर्मी म्याम मलाई हरेक दिन भेट्न आउनुहुन्थ्यो, स्वास्थ्यवर्द्धक खानेकुराका साथ । स्कुलबाट फोन गरेर मैले खाएको–नखाएको, ज्वरो, दुखाइ आदिबारे सोध्नुहुन्थ्यो । उहाँको त्यो स्नेहले म हारेकी छु । मैले आफ्नो कार्यकालमा बनाएका सुमधुर सम्बन्धलाई सदैव मेरो मानसपटलमा राखिरहेकी छु ।
हरेक सम्बन्ध नाजुक फूलजस्तै हुन्छन्, त्यसैले यिनीहरूलाई माया, विश्वास, सहयोग, समझदारीका साथ अगाडि बढाउन सक्नुपर्छ । कतिपय सुमधुर सम्बन्धले जीवनको सफलता समेत निर्धारण गर्छन् ।
मलाई लाग्छ, सम्बन्धहरू नाजुक फूलजस्तै हुन्छन् । ती स्याहार नगरे झर्छन्, तर माया र मर्मले पालिए भने जीवनभर सुगन्धित रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा
-
मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ : प्रधानमन्त्री
-
रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान