मेक्सिकोका सुरक्षा सल्लाहकारको गोली हानी हत्या

समाचार सारांश
- मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या, रेस्टुरेन्टमा आक्रमण। लागुऔषध माफियाको संलग्नताको आशंका।
- आक्रमणमा हिडाल्गोका पूर्व उपसुरक्षा सचिव कार्लाेस अमाडोरको पनि मृत्यु, अर्का एक जना गम्भीर घाइते।
- गुजम्यानले अमेरिकी विदेश विभागको लागि काम गरेका थिए र जालिस्को प्रहरीलाई सुरक्षा तालिम दिएका थिए।
मेक्सिको सिटी । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण भएको थियो । यो आक्रमणको योजना केही लागुऔषध माफियाले बनाएको बताइएको छ । गुजम्यानले अमेरिकी विदेश विभागको लागि समेत सम्झौतामा पनि काम गरेका थिए ।
घटना राति ९ बजे भएको थियो । शुक्रबार ग्वाडालजारा सहरको एउटा रेस्टुरेन्टमा गुजमान सुरक्षा र गुप्तचर तालिम प्रदान गर्ने अन्य दुई पुरुषहरूसँग खाना खाइरहेको समयमा उनीमाथि गोली प्रहार भएको हो । उनले हालै जालिस्को प्रहरीलाई सुरक्षा र गोप्य गुप्तचर तालिम प्रदान दिएको गुजम्यानसँग काम गरिसकेका सेवा निवृत्त एफबीआई एजेन्ट आर्टुरो फोन्टेसले भनेका थिए ।
फोन्टेसले लिंक्डइनमा एउटा पोस्टमा लेख्दै आफू र गुजम्यानले विगत दुई वर्षदेखि अमेरिकी विदेश विभागको अन्तर्राष्ट्रिय लागू औषध तथा कानुन प्रवर्तन शाखा अन्तर्गत मेक्सिकन प्रहरीलाई लागू औषध विरोधी तालिम प्रदान गर्दै आएको बताएका छन् ।
आक्रमणमा हिडाल्गो राज्यका पूर्व उपसुरक्षा सचिव कार्लाेस अमाडोरको पनि मृत्यु भएको छ । यसैबिच तेस्रो प्रशिक्षक पाब्लो काजिगल गम्भीर घाइते भएका छन् । काजिगल चिहुआहुआ राज्यका पूर्वरक्षा सचिव हुन् ।
फोन्टेसले गुजम्यानलाई आफूले चिनेका सबैभन्दा साहसी व्यक्तिहरू मध्ये एक भनेका छन् । एक हप्ता अघि मात्र गुजम्यानको ५० औँ जन्मदिन मनाइएको थियो ।
गुजम्यानको समूह सडकमा रहेको एउटा रेस्टुरेन्टमा खाना खाइरहेका बेला अज्ञात आक्रमणकारीहरूले उनीहरूमाथि गोली चलाएका थिए र त्यसपछि रातो कारमा भागेको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचार छापेको छ ।