बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
समिति बैठक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : लेखा समितिमा सांसदहरूका आ–आफ्नै तर्क

बुधबार, ०७ जेठ २०८२, १४ : १३
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • एमाले सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक पक्ष र उपसमितिको प्रतिवेदनमाथि प्रश्न उठाए।
  • सांसद राजेन्द्र लिङ्देनले उपसमितिको प्रतिवेदन त्रुटिपूर्ण भएको र ठेकेदार कम्पनीको विज्ञप्तिप्रति आपत्ति जनाए।
  • कांग्रेस सांसद राजेन्द्र केसीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र रकम वृद्धिको विषयमा प्रश्न उठाए।

काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइकाओले ‘फोरडी क्याटोगोरी’को भनेको र एयर थाईले परीक्षण उडान समेत गरेको उल्लेख गर्दै उपसमितिको प्रतिवेदनले फोरडीमै प्रश्न उठाएको बताएका छन् ।

बुधवार पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमाथिको समितिमा भएको छलफलका क्रममा नेता भट्टराईले न्यारोवडी जहाज बस्न मिल्ने भनेर भनेको अवस्थामा उपसमितिले फोडी क्याटोगरीको विमानस्थल होइन भनेर कसरी भन्ने ? भन्दै प्रश्न गरे ।

‘२५ सय मिटरको रनवे छ,४५ मिटर चौडाइ छ । जहाजहरू बसिरहेका छन् । हिमालय एयरलाइन्सले उडान पनि गरिरहेको छ। चाइनिज एयरलाइन्सले उडान गरिरहेको छ’, भट्टराईले भने, ‘परीक्षण र चार्टड उडान भइरहेका छन् ।’

उनले पोखरा एयरपोर्ट चाइनिज लगानीसँग सम्बन्धित भएको भन्दै एयरपोर्टमाथि अरू प्रश्नहरू पनि उठ्न सक्ने बताए । साथै भट्टराईले कतिपय निर्णयमा संलग्न कर्मचारीहरूमाथि कारबाहीको सवालमा प्रतिवेदन नबोलेको बताए ।

त्यसअघि राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समिति अन्तर्गतको उपसमिति प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको बताए । उनले परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिप्रति आपत्ति समेत जनाए ।

‘निर्माण कम्पनीले भर्खरै जुन विज्ञप्ति जारी गरेको छ, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सार्वजनिक लेखा समितिको पनि ध्यानाकर्षण होस् । एउटा सार्वभौम संसद्ले तयार गरेको प्रतिवेदनमाथि यसरी विज्ञप्ति निकालेर एकदमै भ्रमपूर्ण भाषा प्रयोग गरेर विज्ञप्ति निकाल्नु उचित हुन्छ कि हुँदैन, प्रतिवेदन विचाराधीन भएको अवस्थामा प्रभाव पार्नु हुन्छ कि हुँदैन’, लिङ्देनले भने, ‘यसमा समितिले गम्भीर रूपमा सोच्नुपर्छ । यसको म कडा रूपमा प्रतिवाद गर्दछु ।’

कांग्रेस सांसद राजेन्द्र केसीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे सरकारले कसरी सम्झौता गरेको हो ? भनेर प्रश्न गरे । ‘६–७ अर्ब सुरुमै बढाइएको छ’, उनले भने, प्राविधिक त्रुटिका कुराहरू पनि सूक्ष्म अध्ययन भएको छ । छिन्ने डाँडा काट्न ३३ करोड खर्च नेपाल सरकारको भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप