शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु हुँदैन

शुक्रबार, ०९ जेठ २०८२, १० : ३२
शुक्रबार, ०९ जेठ २०८२

सारांश

  • नारायणी अस्पतालमा बिरामीको चाप बढ्दो छ, विशेष गरी छाला र श्वासप्रश्वास सम्बन्धी समस्याहरू, औद्योगिक प्रदूषणको कारणले गर्दा।
  • उद्योगहरूबाट निस्कने धुवाँ र रसायनले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ, बालबालिका र दीर्घ रोगीहरू सबैभन्दा बढी प्रभावित छन्।
  • डाक्टरका अनुसार, प्रदूषण नियन्त्रण गर्न सरकार, उद्योग र स्थानीय समुदायको संयुक्त प्रयास आवश्यक छ, जसले मानव स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्छ।

नारायणी उपक्षेत्रीय अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाही र छिमेकी मुलक भारतबाट समेत उपचारका लागि बिरामी आउने गर्दछन् । हामीकहाँ दैनिक एक हजारभन्दा धेरै बिरामी ओपीडीमा हुन्छन् । आकस्मिकतर्फ दैनिक २ सय जना हुन्छन् भने २५ देखि ३० जना बिरामी शय्या नपाएर अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ ।

ओपीडीमा आउने बिरामीमध्ये दीर्घरोगी बढी छन् । मधुमेह, उच्च रक्तचाप, दम, मुटु, मिर्गौैला रोगीको संख्या बढी छ । हामीकहाँ दैनिक सय जनाभन्दा बढी त छालाका रोगी आउँछन् । विभिन्न कारणले छालामा घाउखटिरा भएका बिरामी उपचारका लागि आउँछन् ।

फोहरको संसर्गबाट छालामा समस्या हुन्छ । खासगरी फोहोर पानी खेलाउँदा छालामा असर गर्छ । यस अतिरिक्त प्रदूषणले पनि असर गर्छ । उद्योगबाट ठोस, तरल र हावाको माध्यमबाट प्रदूषण निष्कासन हुन्छ । यी तीन वटैको प्रभाव हाम्रो शरीरमा विभिन्न किसिमको हुन्छ ।

पहिला दमका रोगीहरू छिटफुट आउथे तर अहिले तुलनात्मक रूपमा दमका रोगीको संख्या धेरै बढेको छ । पहिला जाडोको मौसममा मात्रै दमका रोगी आउँथे, अहिले जाडो होस् वा गर्मी– श्वासप्रश्वासको समस्या लिएर आउँछन् । यसको मुख्य वैज्ञानिक कारण भनेको उद्योगले निष्कासन गरेको धुवाँ र त्यसमा मिसिएको मसिना कण हुन् । धुवाँमा मिसिएको आँखाले देख्न नसकिने मसिना कणले हाम्रो फोक्सोमा ठुलो असर पार्दछ । यसले फोक्सोको दम, क्यान्सर हुन्छ । यी रोग अहिले बढ्ने क्रममा छ ।

दोस्रो कुरा, कोभिड लागेपछि हाम्रो फोक्सो कमजोर भयो । कमजोर फोक्सोमा यस्ता प्रदूषणले अझ छिटो असर पार्ने भयो ।

अर्को ठुलो समस्या छालामा देखिएको छ । हामीले छाला सम्बन्धी उपचारका लागि शिविरहरू राख्दा धेरै बिरामी आउने गर्दछन् । उनीहरूलाई सोध्दा नदीमा गएर नुहाएको सुनाउँछन् ।

नदीमा औद्योगिक रसायन विसर्जन हुँदा मानिस र जलचरलाई प्रत्यक्ष असर गर्छ । खासगरी छाला उद्योगबाट निस्किएका रसायन भयावह हुन्छ । उद्योगबाट निस्किएको प्रदूषित पानीसँग सम्पर्कमा गएका व्यक्तिहरूमा कुनै न कुनै प्रकारको छालाको समस्या देखिएको छ । दीर्घकालीन रूपमा यसले क्यान्सर पनि निम्त्याउन सक्छ । केही क्यान्सर छोटो अवधिमा देखिँदैनन् । यदि त्यस्तो रसायन मिसिएको पानी पिउने गरेको छ भने आन्द्रामा घाउ हुने, स्नायु प्रणाली, पाचन प्रणालीलाई नराम्रो असर पार्ने गर्दछ ।

सिमेन्ट उद्योग, सिसा उद्योगबाट निस्किएको कणहरूबाट निमोकोनियसिस् भन्ने फोक्सोको रोग लाग्छ । मैले उद्योगहरूको अनुगमनमा जाँदा यस्तो समस्याको लक्षण देखिएका धेरै मजदुर, कर्मचारी देखेको छु । यो समस्या परिपक्व उमेरका मानिसहरूमा भन्दा दश गुणा बढी बालबालिकामा हुने गर्दछ ।

उद्योगबाट निस्किएको धुवाँ, दुर्गन्धित रासायनिक पदार्थ मिसिएको पानीको सम्पर्कमा पुगेका बालबालिकाहरूमा यसले गम्भीर असर गर्छ । बालबालिकामा मस्तिष्क, आन्द्रा, पाचन प्रणाली, स्नायु प्रणाली, फोक्सोको रोग, पेटको रोगहरू देखिन्छ ।

सुस्तता र छालाको समस्या भएका धेरै बालबालिका उपचारका लागि आउने गरेका छन् । औद्योगिक प्रदूषणबाट बच्चाहरू सबैभन्दा धेरै प्रभावित छन् । औद्योगिक प्रदूषणका कारण कति दीर्घ रोगीहरू छन् भन्ने अहिलेसम्म कुनै अध्ययन÷अनुसन्धान भएको छैन । तर बिरामीहरूसँग कुरा गर्दा फोक्सोको रोगीहरू डेढ गुणाले बढेका छन् । पहिला यति धेरै मानिस सम्पर्कका आएका थिएनन् । यसको मुख्य कारण प्रदूषित हावा नै हो ।

आगामी दिनमा यस्ता बिरामीको संख्या झनै बढ्ने देखिन्छ । अहिले हामी जुन जोखिममा छौँ, त्योभन्दा १० गुणा बढी जोखिममा हुनेवाला छौँ । त्यसले गर्दा अब औद्योगिक करिडोरहरू बनाउँदा मानव बस्तीभन्दा टाढा बनाउनुपर्छ । मानव स्वास्थ्य, कृषि, पशु चौपायामा कुनै पनि असर नपर्नेगरी मापदण्ड बनाउने र त्यसको गम्भीर रूपमा पालना गर्नुपर्छ ।

पछिल्लो अनुसन्धानले मधुमेह रोग लाग्ने मुख्य कारणमध्ये औद्योगिक प्रदूषण पनि हो भनेको छ । उद्योगले निष्कासन गरेको भारी कण भएका धुवाँले आँखा पोल्ने समस्या पनि धेरै छ । यो अझ बढ्छ । किनकि प्रदूषण गर्ने निकायहरू बढ्ने क्रममा छन् ।

औद्योगिक क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू यस्तो जोखिममा बढी हुन्छन् । यसबाट बच्नका लागि सबैभन्दा धेरै जोखिम क्षेत्रमा रहेका बालबालिकाहरूलाई उद्योगले फ्याँकेको रासायनिक पानीको छेउछाउमा जान दिनु हुँदैन । हावा प्रदूषित भएमा घरबाट सकेसम्म ननिस्कने, बाहिर निस्कनै परेमा मास्क लगाएर हिँड्ने गर्नुपर्छ । प्रदूषित पानी भएका खोला तथा नदीमा लुगा धुन, नुहाउन, गाईवस्तु चराउन जानबाट बालबालिकालाई बचाउने गर्नुपर्छ । यस्तो प्रदूषणले बालबालिहरूमा दीर्घ रुपमा मस्तिष्क, स्नायु सम्बन्धी रोगका साथै क्यान्सरसमेत देखिएको छ ।

औद्योगिक क्षेत्र र दुषित पानी भएको ठाउँ वरपर घर नबनाउने, पिउने पानीको मुहानहरू प्रदूषित पानीभन्दा २ सय मिटर टाढा हुनुपर्ने कुरालाई पनि ख्याल गर्नुपर्छ । उद्योगमा काम गर्ने मजदुरहरूले सुरक्षा औजारहरू अनिवार्य प्रयोग गर्नुपर्छ । शुद्ध पानी प्रशस्त मात्रामा पिउने, घर बनाउँदा दुवैतर्फ हावा आउनेजाने खुला भेन्टिलेशन राख्नुपर्छ । यतिमात्रै हुँदा पनि भारी कण भएका प्रदूषित हावा कोठाभित्र पस्दैन ।

त्यसैगरी खाना पकाउने कोठामा पनि चिम्नीको व्यवस्था गर्ने । उद्योगको धुवाँ आइरहने दिशाको विपरीत दिशातर्फ फर्काएर घर बनाउने गरेमा पनि केही हदसम्म यसबाट हुने असरलाई कम गर्न सकिन्छ ।

मानिसमा हुने बाहेक जनावरहरूमा पनि छाला, आन्द्रामा घाउ हुने समस्या देखिन्छ । अब यस्तो प्रकृतिको प्रदूषण रोक्न स्थानीय, प्रदेश र संघीय सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ ।

केन्द्रीय सरकारले यस्तो उद्योगहरूलाई लाइसेन्स दिँदा पूर्ण रूपमा वैज्ञानिक मापदण्ड पूरा भएको नदेखिएसम्म लाइसेन्स जारी गर्नुहुँदैन । त्यसमा प्रदूषित पानी प्रशोधन उपकरण, धुवाँ, धुलो नियन्त्रण गर्ने प्रविधि जडान गरेको हुनुप¥यो ।

प्रदेश सरकारले पनि प्रदेश मातहतमा रहेका उद्योगको सञ्चालन अनुमति हेर्र्नुप¥यो । स्थानीय निकायले पनि जग्गा पास गर्ने बेलामा मापदण्ड पूरा गरे÷नगरेको हेर्नुप¥यो, छैन भने रोक लगाउन सक्नुप¥यो ।

दोस्रो उद्योगभित्र हरियाली हुनुप¥यो । हामीकहाँ यस्तो छैन । उद्योगको लाइसेन्स दिँदा मानव बस्तीभन्दा एकदमै टाढा दिनुप¥यो । नियमन निकायले नियमित अनुगमन गर्नुपर्छ ।

उद्योगीहरूले पनि मापदण्ड पालना गरेका छैनन् । नियमन निकायहरू प्रभावकारी नहुँदा त्यसको फाइदा लिएर उद्योगीहरूले मानव स्वास्थ्यमा असर पर्ने काम गरिरहनु भएको छ । उहाँहरूको जिम्मेवारी पनि हो । औद्योगिक प्रदूषणलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्न संवेदनशील हुनुपर्ने आवश्यकता छ ।

संघीय सरकारले भएका नीति नियमहरूमा कमजोर छन् भने संशोधन गरेर जानुपर्छ । यी सबै मानव स्वास्थ्यमा प्रत्यक्ष रूपमा कतै न कतै गाँसिएका कुरा हुन् । स्वस्थ भएर बाँच्न पाउनुपर्ने विषय मौलिक अधिकारको रूपमा संविधानमा पनि उल्लेख छ । व्यवसाय वा उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु भएन, उहाँहरू संवेदनशील हुनुप¥यो । आवश्यक मापदण्ड पूरा गर्नुपर्छ ।

(नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जका प्रवक्ता डा.उदयनारायण सिंहसँग गरिएको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.उदयनारायण सिंह
डा.उदयनारायण सिंह
लेखकबाट थप