नेपालको स्विट्जरल्यान्ड उपमा पाएको सुन्दर जिरी, २५ तस्बिरमा हेर्नुहोस्

समाचार सारांश
- सगरमाथा आरोहणको लागि जिरी हुँदै गएपछि चर्चामा आएको दोलखाको जिरीलाई 'नेपालको स्विट्जरल्यान्ड' उपमा दिइयो।
- स्विट्जरल्याण्ड सरकारको सहयोगमा जिरीमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास भयो र विमानस्थल निर्माण गरियो।
- विमानस्थल सञ्चालनको प्रयास भए पनि जग्गा विवादका कारण काम अघि बढ्न सकेको छैन, स्थानीय बासिन्दा पुनः सञ्चालनको माग गर्दछन्।
दोलखा । ७० वर्ष अघि सगरमाथा आरोहणका लागि एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरी हुँदै उकालो लागेपछि यो सहरको चर्चा सुरु भयो । ‘सगरमाथा प्रवेशद्वार’ को नामले चिनिएको यो उपत्यकामा पर्यटकहरूको ओइरो लाग्न थालेको थियो ।
अझ २०१४ सालमा ‘जिरी बहुउद्देश्यीय विकास कार्यक्रम’ थालनी गरेर स्विट्जरल्यान्ड सरकारले कृषि, वन, यातायात, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी लगायतका सुविधा पुर्यायो । जिरीको मुख्य बजारमा बनेका संरचना, वरिपरि उभिएका सल्लाका रुख र भूबनोटले पनि यसले नेपालको स्विट्जरल्यान्डको उपमा पायो ।
अहिले पनि मानिसहरू जिरीलाई नेपालको स्विट्जरल्यान्ड भनेर चिन्छन् र घुम्न आउँछन् । अझ स्विट्जरल्यान्ड सरकारकै सहयोगको समयमा गाई फार्म, जिरी प्राविधिक विद्यालय, चिज उद्योग, जिरी अस्पताल, पक्की सडक निर्माण र हरियाली प्रवर्द्धनको काम भयो । यो उपत्यका दोलखा, रामेछाप, भक्तपुरसम्मका बिरामीका लागि उपचारको केन्द्र समेत बन्यो ।
स्विट्जरल्यान्ड सरकारले जिरीमा परियोजनाहरू सञ्चालन गर्ने क्रममा २०१७ सालपछि विमानस्थल निर्माण गर्यो । भक्तपुरको साँगाबाट सात दिन हिँडेर जिरी आइपुग्नुपर्ने सास्ती टर्यो । स्विट्जरल्यान्ड सरकारले आफ्नै स्वामित्वको जहाज र पाइलट राखेर हवाई यात्रा सञ्चालनमा ल्याएको थियो । जिरी पर्यटकीय, व्यापारिक र शैक्षिक ‘हब’ नै बन्यो ।
आफ्नै देशको नक्कल गरेर स्विस सरकारले संरचनाहरू विस्तार गरेको थियो । स्विस भूगर्भविद् टोनी हेगनले भौगोलिक अवस्थाका आधारमा जिरीलाई स्विट्जरल्यान्डको ज्युरिच सहरसँग तुलना गरेका थिए । यसपछि जिरीलाई ‘नेपालको स्विट्जरल्यान्ड’ उपमा दिइयो । जिरीको तल्लो बजारलाई ‘लिङ्कन बजार’ भनिन्छ ।
जिरीमा सडक जोडिएपछि २०४३ सालमा हवाई यात्रा बन्द भयो । अहिले धावनमार्ग बस्तुभाउको चरिचरन क्षेत्र बनेको छ । विमानस्थल पुनः सञ्चालन गर्नुपर्नेमा २०५३ सालदेखि नै आवाज उठ्दै आएको छ । तर, हालसम्म सुनुवाइ भएको छैन ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आश्वासनपछि २०५३ मा उक्त विमानस्थल पुनः सञ्चालन गर्नेबारे विस्तृत परियोजना प्रतिवेदन नै पेस भएको थियो । यसअघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जिरीमै पुगेर ‘माउन्टेन फ्लाइट’ का लागि विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए ।
केही वर्षअघि धावनमार्ग फैलाएर सुचारु गर्ने प्रयास हुँदै गर्दा नापी कार्यालय र पशु विकास फर्मसँग जग्गाको स्वामित्वका विषयमा विवाद भएपछि काम अघि नबढेको स्थानीयहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल च्यालेन्ज : कोर्स रेकर्ड सहित शुक्रलाई उपाधि
-
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ
-
सर्वोच्च परिसरमा रवि समर्थकको भीड
-
वाणिज्य बैङ्कको गुणस्तर परीक्षणका लागि छानियो बङ्गलादेशी कम्पनी
-
भूमि सम्बन्धी विधेयकमा जसपा नेपालले राख्यो १३ बुँदे संशोधन प्रस्ताव
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला