पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह

काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा शुक्रबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै उनले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए । मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने अध्यक्ष ढकालले बताए ।
‘हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको सङ्ख्या ठुलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउनको लागि तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ,’ उनले भने ।
बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नु पर्ने उनले बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन सके नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिनेमा जोड दिए ।
अर्बौँको लागतमा गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसँग आग्रह गरे ।
‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठुलो लगानी गरेको छ । तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ’ उनले भने ।
बिआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मद्दत गर्ने उनले धारणा राखे ।
‘लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्न लागि उपयुक्त छ । लुम्बिनीले स्वास्थ्य पर्यटनको लागि आदर्श शान्त वातावरण प्रदान गर्दछ । हामी विभिन्न प्रकारका कल्याण कार्यक्रमहरू विकास गर्न सक्छौँ,’ अध्यक्ष ढकालले भने । ढकालले नेपालको हवाई भाडा महँगो भएको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताउँदै यस विषयमा समीक्षा गर्न आग्रह गरे ।
नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनको लागि गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राख्दै उनले नेपालको सीमावर्ती क्षेत्रमा झन्डै १५ करोड भारतीय मध्यमवर्गमा प्रवेश गरेको अवस्थामा भारतीय पर्यटक नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन सक्ने प्रावधानलाई परिमार्जन गर्न र अन्य देशहरूबाट आउने पर्यटकहरूले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै, सरकार र निजी क्षेत्रले मिलेर यसबाट लाभ उठाउन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्ताहरूलाई नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले लगानी गर्नका लागि आग्रह गरे । तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट भोली पनि चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट